Trending
>>   थाइल्यान्डमा क्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु, दश घाइते >>   भैरहवा विमानस्थल स्थायी सञ्चालनका लागि प्रदेश सरकारले पहल गर्छः मुख्यमन्त्री आचार्य >>   कुल गार्हस्थ्य उत्पादनमा पशुपालन क्षेत्रको योगदान महत्वपूर्णः कृषिमन्त्री अधिकारी >>   सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन सकेको छैनः अध्यक्ष दाहाल >>   मलेसियाको पीपीआई अक्टोबरमा २.४ प्रतिशतले घट्यो >>   इजिप्ट र जोर्डनबीच क्षेत्रीय विकासबारे छलफल >>   सन् २०३० सम्म ३८ करोड ५० लाख खोपको डोज उत्पादन गर्ने इजिप्टको लक्ष्य >>   चार एसपी एसएसपीमा बढुवा >>   मौन अवधि लागू, निर्वाचन आचारसंहिता उल्लङ्घन गरे कारबाही >>   आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली,हिमाली भेगमा हिमपातको सम्भावना
Logo
१४ मंसिर २०८१, शुक्रबार
१४ मंसिर २०८१, शुक्रबार

मिथिला मध्यमा परिक्रमा सम्पन्न


मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् । पन्ध्र दिने उक्त परिक्रमा फागुन प्रतिपदामा सुरूआत भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुने गर्दछ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भन्ने गरिन्छ । मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि मिथिला महात्म्यमा उल्लेख छ । यही विश्वासका कारण हजारौँ श्रद्धालु मिथिला क्षेत्रका यात्रामा सामेल हुन्छन् । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु मिथिला विहारीका डोलाका पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जो कोहीलाई पनि मोहित पार्छ । सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारैदिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको इतिहासविद्को भनाइ छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ ।

वैदिक कालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको पण्डित लालबाबु झा बताउनुहुन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवका अनुसार यज्ञ, मन्दिर, नदी तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुन्छ । नेपाल र भारतको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका एक सय सात एवं भारतको २६ गरी एक सय ३३ किलोमिटर पैदलयात्रा तय गर्दछन् । यो परिक्रमा मेलामा सहभागि भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । यस अवसरमा नेपाल र भारतका मिथिला क्षेत्र उत्सवमय हुन्छ । धेरै श्रद्धालुको सहभागिता रहने गरेको सो परिक्रमा हरेक, धर्म, जातजाति, छरछिमेकका गाउँवासी, इष्टमित्र, घरपरिवारका नातेदारलगायत कर कुटुम्बका लागि उत्सव आस्थाको केन्द्र मानिन्छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गैै खुट्टा पदयात्रामा सामेल हुने ब्रह्मचर्य जीवनपालन गर्नुपर्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बैष्णव बताउनुहुन्छ । वैष्णव, शैव र शाक्त सम्प्रदायको धार्मिक अनुष्ठानका रूपमा माध्यमिकी परिक्रमालाई लिइन्छ ।

यस अवधिमा साधुसन्तको अवस्था, सानिध्य ल्याउने, भगवत कृपाप्रतिको आस्था, अरूप्रति आश्रित जीवनका कथा, व्यथासमेत सुन्न र अवलोकन गर्न पाइन्छ । सो यात्रामा सामजिक उत्तरदायित्व बहनताको समृद्धि, आपसी सम्बन्ध प्रगाढताको सन्देश लुकेको पाइन्छ । यात्रा गरिरहँदा शारीरिक सङ्कुुचन पर जान्छ, मानिस फूर्तिला, जोशिला र जाँगरिला बन्ने प्रेरणा पनि दिन्छ भन्ने विश्वास रही आएको छ । इतिहासकारका अनुसार यो परिक्रमाको मार्गमा पहिले जङ्गल थियो भने हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उनका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उनी कचुरी पठका महन्त थिए । त्यसै बेलादेखि परिक्रमाको मूल डोला कचुरी मठबाट सुरू हुने परम्पराको थालनी भएको हो । परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरित्रमा उल्लेख गरिएको छ । यो परिक्रमाको डोला धनुषाको कचुरी गाउँको मिथिला विहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ ।

त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि न्यायमूर्तिमाथिको दर्शन र आशीष लिने चलन छ । परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत विहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ । भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बाँस बस्ने र अन्य दिन झै भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकी माता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकी माताको विवाहमा मटकोर गरिएको ठाउँले ख्याति प्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाट समेत श्रद्धालु आउने गर्छन् । मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बाँस बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ । यहाँबाट धुर्वको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो । कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ ।

यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । पर्वताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ । दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालु बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ । त्यसपछि औरही, करूणा हुँदै पुनःकल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजा पाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मेला सम्पन्न हुने परम्परा रहेको छ । परिक्रमाका यात्रीलाई १५ वटै विश्रामस्थलमा स्थानीयवासीले उत्साहका स्वागत साथ सेवा सत्कार गरेका थिए । यसपटक स्थानीय सरकार पनि परिक्रमा व्यवस्थापनमा जुटेका थिए । परिक्रमाअन्तर्गत विश्रामस्थलमा पर्ने स्थानीय सरकारले साधुसन्त तथा भक्तजनका लागि भोजन, पानी, विद्युत्, अस्थायी शौचालय, स्वास्थ्य शिविर व्यवस्थाको व्यवस्था मिलाएको थियो । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा रहेको छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?