Trending
>>   सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशीलः खुला सीमा र सद्भाव बनाई राख्नु प्रमुख सुरक्षा चुनौति >>   निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह >>   बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ >>   स्थानीय जनप्रतिनिधिले निर्वाचनमा प्रसारप्रसार गर्न पाइँदैनः सूचना अधिकारी घिमिरे >>   घण्टी बजाउँदै प्रचार गर्न नपाइने: निर्वाचन आयोगको स्पष्ट आदेश >>   नेपाल पर्यटन बोर्ड ऐन संशोधन गरिने >>   समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ? >>   पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले >>   ‘बनेको बाटोमा हिँड्ने भन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ’: अध्यक्ष ओली >>   ‘सही कुराका लागि मात्रै मेरो जिद्दी हो’: एमाले अध्यक्ष ओली
Logo
११ फाल्गुन २०८२, सोमबार
११ फाल्गुन २०८२, सोमबार

गौशालाको स्तरोन्नति गर्न आर्थिक अभाव : महायज्ञ लगाइँदै


टीकापुर,कैलाली। कैलालीको टीकापुरस्थित गौशालालाई स्तरोन्नति गर्न आर्थिक अभाव भएपछि यही मङ्सिर १६ देखि २३ गतेसम्म महायज्ञ लगाइने भएको छ । टीकापुर–२ सीतापुरस्थित जनजागृति माध्यमिक विद्यालय नजिक महायज्ञ हुने भएको हो । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले आयोजना गर्न लागेको उक्त महायज्ञ सम्पन्न गर्न द्वारिका जोशीको संयोजकत्वमा ‘टीकापुर गौशाला ज्ञान तथा धार्मिक महोत्सव मूल समारोह समिति’ गठन गरिएको छ । उक्त महायज्ञबाट भएको आम्दानीबाट गौशालालाई व्यवस्थित गरिने आयोजकले जनाएको छ भने सो महायज्ञमा अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ । त्यस्तै, महायज्ञमा तुला दान, अन्न दान, पितृ दान, ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, व्रतबन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ । “हामी महायज्ञ कर्म खर्चमा कसरी गर्ने भनी लागेका छौँ, टेण्ट, कलाकार निःशुल्क उपलब्ध भएको छ”, संयोजक जोशीले भने, “मुख्य वाचक र ब्राह्मणलाई न्यून रकम दिने गरी महायज्ञ गर्न थालेका छौँ ।” त्यस्तै, स्थानीय राजकुमारी सिंह गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर युवाहरू अघि बढेको देखेर आफू पनि महायज्ञ सफल पार्न अभियानमा जोडिएको बताइन् । “छाडा पशुले महिलालाई धेरै पीडा थियो, थोरै बारी पनि गाईगोरुले नोक्सान गरिदिने समस्या थियो”, उनी भन्छिन्, “किसानको बाली पनि जोगिने, गाईवस्तुको पनि उचित संरक्षण हुने काम राम्रो छ ।

सबैले सकेको सहयोग गर्ने हो ।” त्यसैगरी स्थानीय मकरबहादुर केसी युवाहरू गाई संरक्षणमा जुटेको देख्दा किसानलाई बढी राहत भएकाले संरक्षण अभियानमा सबै सहयोगी बन्नुपर्ने बताउछन् । “कमाइ गर्ने उमेरका युवा गाई संरक्षणमा लागेका छन्”, उनी भन्छन्, “समाजकै लागि सकारात्मक सन्देश हो । गाई संरक्षण सबैभन्दा पुण्यको काम हो ।” विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् । उनीहरूले छाडा गाइगोरु खुला आकाशमा हुलेको दृश्यलाई ख्याल गरेर संरक्षणमा लाग्ने निधो गरेका हुन् । गाईको संरक्षण गर्नलाई व्यवस्थित बासको योजना बनाएर अघि बढेकोे सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिका अध्यक्ष लोकबहादुर बिसीले जानकारी गराए । “गाई संरक्षण गर्न सक्ने हो भने दूधदेखि मलमूत्र सबै प्रयोगमा ल्याउन सक्छौँ”, उनले भने, “हुलिएका छाडाको बास र खानाको व्यवस्था हाम्रो प्रमुख उद्देश्य हो ।”

उक्त संस्थामा गौशालाको संरक्षण थालेपछि तरकारी हाटबजारमा खेर फालिएको तरकारी सङ्कलन गरी गाईका लागि लगिने गरिएको छ भने गोबरबाट जैविक मल, दियो र धूपको उत्पादन गर्न थालिएको छ । यसैगरी गौशालामा राखिएका गाईगोरुलाई भिटामिन, क्याल्सियम, जुकाको औषधि, खोप लगाउने काम भएको छ भने सुत्केरी र गर्भवती गाईलाई छुट्टाछट्टै राखेर हेरचाह गर्ने गरिएको छ । गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ भने त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान बेलुका दुई–दुई घण्टा ५५ घरधुरीलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ ।


प्रकाशित मिति: १० मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?