Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

‘माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ’


२१ फागुन, काठमाडाैँ। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् । आज यहाँ सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ । माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोडदिए ।

अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न खोज्नु र गिज्याउनु भएको अभिव्यक्ति दिए । उनले भने, “बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोज्या हैन ?”

उनले माओवादीबीच एकता हुन नसक्दा यसअघि नै धेरै कुरा गुमाउन परेको गुनासोसमेत गरे । “पहिलो संविधानसभाबाट संविधान बनाएर जान सकेको भए योभन्दा राम्रो संविधान, सेना समायोजन र सहिद तथा बेपत्ता पारिएकासम्बन्धी आयोगको काम समयमै सम्पन्न हुने थियो । तर अभागीलाई खानेबेला रिस उठ्छ भने जस्तै हामीलाई रिस उठ्यो त्यो बेला, हामीबीच एकता हुन सकेन”, उनले भने । नेतृत्व मोहका कारण राजनीतिमा पुस्तान्तरण हुन नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको बलिदानको कदर हुन नसक्नु दुःखद भएको बताए । उनले भने, “देशको अवस्था परिवर्तन हुन नसके, सहिदहरूको बलिदानको सम्मान हुन नसके फेरि अर्को क्रान्ति अगाडि बढ्नेछ ।”

नेपाल बहुमत पार्टीका संयोजक धमेन्द्र बास्तोला कन्चनले क्रान्तिले राज्य व्यवस्थामा अझै परिवर्तन ल्याउन नसक्नु दुःखद भएको गुनासो गरे । उनले भने, “अहिले कमीकमजोरी स्वीकार गरिरहनुभएका नेताले त्यसबेला समीक्षा गर्न नसक्दा घटेको घटना अहिले घट्न दिनुहुँदैन ।”

नेकपा (माओवादी केन्द्र समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले सहिदहरूको सपना कसैले बिर्सन नहुने भन्दै आफूहरू क्रान्तिका बेला क्रान्तिकारी र सत्तामा पुगेपछि सामान्ती भएको टिप्पणी गरे ।

माओवादी धारका विभिन्न पार्टीका नेता उपस्थित कार्यक्रममा सहिद तथा बेपत्ताका योद्धा सन्तति फाउन्डेसनका सदस्यहरूले माओवादीहरू एक भएर अघि बढ्न सुझाव दिएका थिए । बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष एकराज भण्डारीले सबै धारका माओवादी एक हुनपर्ने सुझाव दिँदै भने, “हामी सहिद तथा बेपत्ता पारिएका व्यक्तिको परिवारको नेतृत्वसँग आशा, अपेक्षासँगै आशङ्का र असन्तुष्टि पनि छन् । माओवादी तपाईंहरू व्यक्तिगत होइन, जनयुद्ध हो र एउटा टिम हो । तपाईंहरू सबै एक ठाँउमा उभिनुस् र एक ठाँउमा बस्नुस् हामी आग्रह गर्छौं ।”


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?