Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

वार्षिक २५ लाख मेट्रिक टन माटो बाढीसँगै बग्छ


म्याग्दीमा वार्षिक २५ लाख मेट्रिक टनभन्दा बढी माटो बाढीले बगाउने गरेको छ । म्याग्दी कार्य क्षेत्र भएको भू–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा सो परिमाणमा माटो भू–क्षयको रुपमा बगेर जाने गरेको उल्लेख छ । खेतीयोग्य जमिन र मलिलो माटो बाढीले बगाउँदा कृषि उत्पादनमा असर परेको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले पछिल्लो समय हिमाल आसपास र मुस्ताङमा बढी पानी पर्न थालेपछि म्याग्दीको तटीय क्षेत्रमा बाढीको सतहसँगै कटानको जोखिम बढेको बताउनुभयो । “६१ प्रतिशत ६० डिग्रीभन्दा बढी भिरालो भूगोल रहेको म्याग्दीमा कमजोर भूवनोटका कारण भू–क्षय, बाढी, पहिरो तथा नदी कटानले गर्दा बर्सेनि क्षति हुने क्रम बढेको छ”, उहाँले भन्नुभयो, “भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, जथाभावी सडक निर्माण र खोल्साखोल्सीको अतिक्रमण तथा बहावमा स्थान परिवर्तन हुँदा जोखिम बढेको हो ।”

अन्नपूर्ण गाउँपालिकाबाट आठ लाख ५५ हजार एक सय ७३ टन, रघुगङ्गा गाउँपालिकाबाट तीन लाख ५० हजार चार सय ६८ दशमलव १० टन र बेनी नपाबाट ३१ हजार एक सय ३७ टन माटो बाढीले बगाउने गरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययन प्रतिवेदनका अनुसार मङ्गला गाउँपालिबाट ३३ हजार चार सय ६६ टन, मालिकाबाट एक लाख तीन हजार दुई सय ३० टन, धौलागिरि गाउँपालिकाको आठ लाख ९६ हजार चार सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षको दुई लाख ४५ हजार आठ सय ८६ टन माटो विभिन्न खोलानाला हँुदै बगिरहेको छ । दुई हजार दुई सय ९७ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको म्याग्दीमा ३६ प्रतिशत भू–भाग १–६० डिग्री भिरालोपना छ । तीन प्रतिशत भू–भाग मात्र समथर छ । एकतीस बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार परिवार जोखिममा छन् । तीन जलाधार क्षेत्र र सात उपजलाधार क्षेत्रमा विभाजन गरिएको म्याग्दीको ३५७ दशमलव नौ हेक्टर जमिन भू–क्षयबाट प्रभावित छ । म्याग्दी, कालीगण्डकी र रघुगङ्गाले क्रमशः ५५, ३० र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको छ । वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले माथिल्लो तटीय क्षेत्रमा रहेको मुस्ताङमा केही वर्षयता अत्यधिक बर्सात हुँदा त्यसको असर म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका कालीगण्डकीको तटीय बस्तीमा देखिएको बताउनुभयो ।

“जलाधारीय दृष्टिकोणले अतिनै क्षतिग्रस्त अवस्थामा रहेको मुस्ताङमा विगत केही वर्षयता अत्यधिक पानी पर्न थालेको छ”, उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको सतह बढ्दै जानु र सो क्षेत्रको गेग्रानको तल्लो तटीय क्षेत्रमा बढ्नु थप चिन्ताको विषय हो ।” बाढी, पहिरो तथा कटानको समस्यालाई समाधान गर्न ग्रामीण सडक निर्माण गर्दा बायो–इन्जिनियरिङ प्रविधिमा अधारित सडक पाखो संरक्षण, अनियन्त्रितरुपमा बग्ने भलपानीको उचित व्यवस्थापनका लागि भल तर्काउने कुलेसो, जलाधार संरक्षण पोखरी निर्माण गर्नुका साथै जिल्लाभित्र रहेका ठाडो÷खहरेखोलाको जलाधार क्षेत्रमा भएको भू–क्षयलाई नियन्त्रण गनुपर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित मिति: १८ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?