Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सुदूरपश्चिम सम्भावनाको भरिपूर्ण क्षेत्र भए पनि बजेटको अभावले समस्या भयो: परराष्ट्रमन्त्री एनपी साउद


काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले सुदूरपश्चिम प्रदेश सम्भावनाको दृष्टिकोणले भरिपूर्ण भए पनि बजेटको अभाव भएको बताएका छन्। सुदूरपश्चिम पत्रकार समाज, काठमाडौंले सोमबार काठमाडौंमा आयोजना गरेको दशैं, तिहार, छठ तथा नेपाल संवत् विशेष शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री साउदले सुदूरपश्चिममा भएका विविध सम्भावनाहरुको प्रचार–प्रसार तथा विकासका लागि बजेटको अभाव भएको बताएका हुन्।

अब तीनै तहका सरकारले पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले पहिले सुदूरपश्चिमबाट काठमाडौं आउन धेरै सकस बेहोर्नुपर्ने भए पनि अहिले विभिन्न नदीमा पुल निर्माण हुँदा धेरै सहज भएको धारणा राखे। उनले राज्यले सुदूरपश्चिमलाई हेर्न दृष्टिकोण पनि बदल्न आवश्यक रहेको धारणा राखे।‘देशको कुनै पनि ठाउँ सुदूर हुनु हुँदैन, देशको कुनै पनि ठाउँ भुगोलका आधारमा सुदूर हुँदैन, अब यो दृष्टिकोण बदल्न आवश्यक छ,’ उनले भने।

उनले सुदूरपश्चिमको प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएर त्यहाँको विकासको विषयमा योजना बनाए पनि बजेटको कारणले योजना पुरा नहुने धारणा राखे। उनले बजेट जनसंख्याको अुनपातमा विनियोजन हुने भएको बताउँदै सुदूरपश्चिममा सोचेअनुरुपको बजेट विनियोजन नहुने धारणा राखे।

‘सुदूरपश्चिममा बढी बजेट विनियोजन गर्ने मनसाय भए पनि जनसंख्याको आधारमा बजेट विनियोजन हुन्छ, बजेट विनियोजन न्यून हुने परिपाटी चुनौतिपूर्ण छ, शहरमा चालु बजेटले तान्ने भए पनि सुदूरपश्चिममा त्यो अवस्था छैन, यसको मारमा सुदूरपश्चिम पर्ने गरेको छ,’ उनले भने।

यस्तै, उनले सरकारले उच्च प्राथमिकतामा राखेर सुदूरपश्चिममा भएको पर्यटन तथा सांस्कृतिक विविधताको प्रचार–प्रसार तथा विकास गर्नुपर्ने बताए। उनले जलविद्युत् र कृषिमा सुदूरपश्चिम ठूलो सम्भावनाको क्षेत्र भएको बताए।

यस्तै, उनले पछिल्लो समय सुदूरपश्चिममा ठूला परियोजनाहरु निर्माणाधीन अवस्थामा रहेकोले त्यसले सिंगो सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए। उनले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि सरकार लागि परेको धारणा राखे। मन्त्री साउदले इजरायल युद्धमा बेपत्ता भएका नेपालीको खोजीका लागि हमाससँग सम्बन्ध रहेको भनिएका देशसँग पनि कुरा हुने बताए।

यस्तै, कार्यक्रममा प्रतिनिधि सभा सांसद रुपा चौधरीले सुदूरपश्चिम सामाजिक तथा सांस्कृतिक रुपमा धनी भएकोले त्यसको संरक्षणका लागि सबैले हातेमालो गर्नु पर्ने धारणा राखिन्। समाजका अध्यक्ष यम बमको सभापतित्वमा भएको कार्यक्रममा विभिन्न अग्रज पत्रकारहरुले धारणा राखेका थिए।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?