Trending
>>   हवाई सेवा प्राधिकरण विधेयकमा भाषा र प्राधिकरणको संरचना स्पष्ट हुनुपर्छः वरिष्ठ उपाध्यक्ष पाण्डे >>   संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकैवर्षमा १५ खर्ब २३ अर्ब खर्च >>   नेपालले आफ्नो सामर्थ्य अनुसार विकास गरिरहेको छः प्रधानमन्त्री >>   आ.व. २०८१—०८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनाः २ हजार ५ सय… >>   गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ >>   भौतिक मन्त्रालयमा देवेन्द्र दाहालको एक वर्षः पुँजीगत खर्चमा अग्रस्थानमा >>   अवसरको सदुपयोग गरेर भविष्य बनाउन लाग्नुस्ः उपप्रधानमन्त्री सिंह >>   सुनकोसी–मरिन डाइभर्सनबारे अध्ययन गर्न उपसमिति गठन >>   नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे >>   एक दशकअघि ओली प्रधानमन्त्री हुँदा सारिएको ठूला औद्योगिक क्षेत्र खोल्ने योजना अहिलेसम्म अधुरै
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

काठमाडौँ–दिल्लीको भन्दा काठमाडौँ–धनगढीको हवाई भाडा महङ्गो


२९ ,असोज ,सुदूरपश्चिम । काठमाडौँदेखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुर्याइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पुर्याएको गुनासो यात्रुको छ ।

चाडपर्वको मौका छोपेर आफूखुसी भाडा लिने गरे पनि सरकारको कुनै निकायले चासो नदिएको यात्रु सन्तोष जोशीले गुनासो गरे । उनले भने, “काठमाडौँदेखि नयाँ दिल्लीको हवाई भाडा रु सत्र हजारभन्दा कम छ, आफ्नै देशभित्र यति धेरै भाडा तोकेर आकस्मिक काममा आवागमन गर्न चाहने यात्रुलाई थप सास्ती दिने काम भएको छ ।”

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन सकेको छैन ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा स्वीकृत भाडा दरअनुसारनै यतिबेला विमान कम्पनीले अधिकतम भाडा लिइरहेको बताए ।

“मन्त्रालयले स्वीकृत गरेको भाडादरअनुसार नै विमान कम्पनीले लिइरहेको देखिएको छ”, उनले भने, “चाड पर्वको बेला काठमाडौँबाट धनगढी फर्किने यात्रुको चाप बढ्दा अधिकतम भाडा र धनगढीबाट काठमाडौँ जाने यात्रु घट्दा न्यूनतम भाडा लिइरहेको देखिन्छ ।” भाडादर वृद्धिको विरोधमा विमानस्थल कार्यालय परिसरमा युवाको समूहले विरोध प्रदर्शन गरेको छ ।

हाल काठमाडौँ–धनगढीको भाडादर रु १४ हजार सातसय एकदेखि रु १७ हजार एकसय ८६ लिने गरिएको छ । धनगढीदेखि काठमाडौँसम्मको भाडा भने निम्नतम रु सात हजार नौ सय छ । गएको साउन महिनादेखि यात्रुको हवाई टकटमा मूल्य अभिवृद्धि कर(भ्याट) समेत जोड्ने गरिएको छ ।

यसअघिसम्म टिकटमा भ्याट जोड्ने गरिएको थिएन । पछिल्ला केही महिनादेखि प्रतियात्रु विमानस्थलको सेवा शुल्क काठमाडौँमा रु चारसय र धनगढीमा रु पाँच सय तोकिएको छ ।

धनगढी विमानस्थलबाट बुद्धएयर र श्री यएरलायन्सले काठमाडौँ–धनगढी–काठमाडौँसम्मको दैनिक हवाई सेवा उपलब्ध गराउँदै आएको छ । यो विमानस्थलबाट दैनिक बुद्धले दुई र श्री एयरलायन्सले चार उडान भर्ने गरेको छ ।

निजी क्षेत्रको समिट एयरले केही दिनदेखि नेपालगञ्ज बेसमा हरेक बुधबार र सोमबार धनगढी–बझाङ–धनगढी, धनगढी–साँफे–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जमा हवाई सेवा दिन थालेको छ ।


प्रकाशित मिति: २९ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?