Trending
>>   सत्ता परिवर्तनका लागि काँग्रेससँग पहल गरेको छैन, गगनजीप्रति दया लाग्छः अध्यक्ष दाहाल >>   रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण >>   गुगलद्वारा फिनल्यान्डमा डाटा सेन्टर विस्तार >>   सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री पौडेल >>   युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए >>   स्थानीय तह उपनिर्वाचन: सम्पूर्ण तयारी पूरा >>   आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड (तस्बिरहरु) >>   नेपाललाई एमसिसि बोझ भयो, बीआरआईमा विवाद नगरौँः झलनाथ खनाल >>   बीआरआई अन्तर्गतका योजना अनुदानस्वरुप अघि बढाउन चीन सकारात्मकः परराष्ट्रमन्त्री राणा >>   सुदूरपश्चिम रोयल्सद्वारा ग्लोवल आईएमई बैंकसँग प्रमुख प्रायोजन सम्झौता
Logo
१५ मंसिर २०८१, शनिबार
१५ मंसिर २०८१, शनिबार

सञ्चार क्षेत्रका श्रम मुद्दामा सरकार संवेदनशील छः मन्त्री शर्मा


काठमाडौं, १५ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएका श्रम समस्याप्रति सरकार गम्भीर र संवेदनशील भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता तथा श्रमजीवी पत्रकार हक प्रवर्धन समिति र श्रमजीवी पत्रकार संघले मन्त्रालयमा गरेको ध्यानाकर्षण कार्यक्रममा उहाँले सञ्चार क्षेत्रमा देखिएका श्रम समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभएको हो ।

मिडियाको प्रबर्धन र श्रमजीवीको हकहितलाई सरकारले महत्व दिंदै आएको उल्लेख गर्दै उहाँले श्रमका मुद्दा चाँडो सम्बोधन गरेर जानुपर्ने बताउनुभयो । यसका लागि मन्त्रालयले चासो राख्दै आएको पनि उहाँले बताउनुभयो । ‘मन्त्रालयले श्रमका मुद्दामा चासो देखाउँदै आएको छ, प्रेस रजिष्ट्रारको समेत भूमिकामा रहेकाले सूचना तथा प्रसारण विभागका प्रमुखलाई श्रमजीवी र व्यवस्थापनसँग समन्वय गरेर श्रमका मुद्दा समाधान गर्न आग्रह गरिसकिएको छ’– मन्त्री शर्माले भन्नुभयो– ‘सकेसम्म श्रमजीवीको हितमा हुने गरी श्रमजीवी र व्यवस्थापन पक्षबिच सहमति गराउने र नसकेको खण्डमा श्रमजीवीलाई कानुनी उपचारको बाटोमा जाने बाटो खोलिदिनुपर्छ भन्नेमा सरकार स्पष्ट छ र सोही अनुसार सम्बन्धित निकायलाई निर्देशित गरिएको छ ।’

हरेक क्षेत्रमा जस्तै अब पत्रकारिताको क्षेत्रमा न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य गरिनुपर्नेमा जोड दिंदै उहाँले कानुन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिस आवश्यक अध्ययन गरेर मन्त्रिपरिषद्मा लैजाने जानकारी दिंदै आवश्यक कानुन निर्माण गरेर सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न थालेको जानकारी दिनुभयो ।

व्यवस्थापन र श्रमजीवीको दुबै हिसाबले सरकारी सञ्चारमाध्यमलाई नमूना बनाउनुपर्नेमा मन्त्री शर्माले जोड दिनुुभयो । रेडियो नेपाल र टेलिभजिनलाई व्यवस्थित गर्न सार्वजनिक सेवा प्रसारण विधेयक संसदमा विचाराधीन रहेको र अहिले संसदीय समितिमा छलफल सुरु भएको उहाँले जानकारी दिनुभयो । सूचना तथा प्रसारण विभागका महानिर्देशक शंकर नेपालले प्रेस रजिष्ट्रारको हैसियले आफूले श्रमका मुद्दालाई गम्भीरतापूर्वक लिएको र प्राप्त उजुरीमाथि छलफल गराउने काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारिता क्षेत्र पनि कानुनबाट चल्नुपर्ने उल्लेख गर्दै राज्यले बनाएका अरु सबै कानुनको पालना नहुने तर श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो । नेपाली पत्रकारिता क्षेत्रमा २० अर्व लगानी रहेकाले यसको पनि सुरक्षा हुनुपर्ने तर श्रमको मुद्दामा सम्झौता नहुने उहाँको धारणा थियो ।
महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टले प्रत्येक दिन अपमानजनकरुपमा मिडिया हाउसबाट पत्रकार निकालिने गरेको औल्याउँदै कान्तिपुरबाट मत्रै ७५ जना पत्रकार निष्काशन गर्ने प्रक्रिया सुरु भएकाले पीडित श्रमजीवीको पक्षमा महासंघले आन्दोलन थाल्ने र सरकारले कानुन कार्यान्वयन गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैशीले श्रमको आन्दोलनमा सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । कार्यक्रम सहजीकरण महासंघका केन्द्रीय रामकृष्ण अधिकारीले गर्नुभएको थियो ।


प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?