काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताएका छन् ।
काठमाडौंमा शुक्रवार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टी केन्द्रिय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भुमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गरेका छन् । उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास प्रतिष्पर्धाका लागि मात्र भएको भन्दै त्यसलाई थप सुदृढ बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारेका छन् । थापाले आफूलाई केन्द्रिय समितिमा सहयोग गर्न सक्ने थुप्रै क्षमतावान नेताहरू अहिलेको संरचनामा नअटेको स्वीकार गर्दै उनीहरूलाई संगठनको काममा सक्रिय रूपमा संलग्न गराउने कार्ययोजना रहेको बताएका छन् । उनले पार्टीको संगठनात्मक संरचना पूर्णता दिने प्रक्रियालाई छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, ‘केन्द्रिय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रिय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ । कोही प्रतिष्पर्धामा सहभागी हुनुभएन भने कोही प्रतिष्पर्धाबाट निर्वाचित हुन सक्नुभएन । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिष्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन । पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ । छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु । यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौँ ।’
सभापति थापाले पार्टीभित्रको एकता नै अहिलेको मुख्य आवश्यकता रहेको भन्दै गुटगत प्रभाव भन्दा माथि उठेर काम गर्ने संकेत गरेका छन् ।
प्रकाशित मिति: ३० आश्विन २०८३, शुक्रबार