Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

उदयपुरमा परम्परागत पेसा लोप हुँदै


उदयपुरको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागतरुपमा विश्वकर्मा (चँदरा) जातिले उत्पादन गर्दै आएका काठका ठेका, ठेकी, हर्पे, दूध दुहुँने धुनेरोलगायत हस्तकलाका सामग्री उत्पादन गर्ने पेसा लोप हुँदै गएको छ । मध्यपहाडी क्षेत्रको बाँसबोटे, तावाश्री, यारीखोला तथा पश्चिमी पहाडी क्षेत्रको रुपाटारसहित पूर्वी क्षेत्रको बबला, चौदण्डी क्षेत्रमा काठका सामग्री हिजोआज उत्पादन हुन छाडेका छन् । उदयपुरगढी गाउँपालिका तावाश्रीका ७७ वर्षीय हर्कराज विश्वकर्मा अहिलेको युवा पुस्ताले हस्तकला सिक्नै नचाहेकाले पेसा नै सङ्कटमा परेको बताउनुहुन्छ । “पहिला पहिला गाउँघरमा गाई, भैँसीपालनसँगै ठेका, ठेकी, हर्पे र धुनेरोको माग हुन्थ्यो । आजभोलि पहिलाको जस्तो माग हुँदैन”, उहाँले भन्नुभयो ।

विगतमा काठका सामग्री उत्पादन गर्नेको सङ्ख्या धेरै थियो । अहिले युवाले यसप्रति चासो नदिँदा काठका सामग्रीको उत्पादन घटेको ताप्ली गाउँपालिका रुपाटार मादलेका कृष्णबहादुर राउतले बताउनुभयो । लिचुङबुङ गाउँपालिका–१ बासबोटेका ७० वर्षीय कर्णबहादुर विश्वकर्मा भन्नुहुन्छ, “बाउबाजेको पालमा हस्तकलाका सामग्री सिक्न सङ्खुवासभा, खोटाङ र रामेछाप पुग्ने गरेका थिए, वर्षौं लगाएर काठका सामग्री बनाउन सिकेर नदी किनारमा काठको घट्ट थापेर सामग्री कुद्ने र बनाउने चलन थियो । अहिले चासो नहुँदा पेसा नै सङ्कटमा छ ।” पहिला गाउँका प्रत्येक घरमा गाईभैँसी पाल्ने गरिन्थ्यो । पछिल्लो समय यो घट्दै गएको छ । पहिला दूध, दही, मही र घ्यु राख्न काठका सामग्रीको माग अत्यधिक हुने गर्दथ्यो । गाउँमा दार, खबारी, कटहर, आँपका काठबाट ठेका, ठेकी, हर्पे, धुनेरोलगायत सामग्री बनाइन्थे । अहिले यी सामग्री लोप भएका छन् । सीप र कलासमेत लोप हुन थालेको बासबोटेका लोकराज विश्वकर्मा बताउनुहुन्छ ।

बासबोटेका ७६ वर्षीय कूलबहादुर विश्वकर्मा भन्नुहुन्छ, “मैले दुई दशकअघिसम्म हजुरबुवाबाट सिकेको ज्ञान प्रयोग गरेर काठका सामग्री उत्पादन गर्थे, अहिले छोराहरुले यो सीप सिक्न चाहेनन्, गाउँका कोही युवाको पनि यसप्रति चासो छैन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार पहिला भोजपुर, धनकुटा, ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरलगायतका स्थानमा यस्ता हस्तकलाका सामग्रीको माग हुने गरेको थियो । अहिले प्लाष्टिकका सामग्रीको माग बढेसँगै काठका सामग्रीको उत्पादन घटेको हो । यहाँको पाको पुस्ता हस्तकलाका सामग्री लोप भएर पेसा नै सङ्कटमा पर्नेमा चिन्तित छ । प्लाष्टिकका सामग्रीले हस्तकलाका सामग्रीलाई विस्थापित मात्र गरेको छैन चँदराको पेसा सङ्कटमा परेको छ ।


प्रकाशित मिति: १३ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?