Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता


२८ भदौ, स्याङ्जा । पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ । तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ ।

तीज गीतका नाममा छाडा गीत, रत्यौलीलगायतका संस्कृतिभन्दा बाहिरको विषय हावी भएको भन्दै तीज पर्व र तीज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तीज गीत प्रतियोगिता आयोजना गरिएको नगरउपप्रमुख भगवती अर्यालले जानकारी दिए । उनले प्रतियोगितामा सहभागी हुनेले तीजको वास्तविक मर्ममा रहेर प्रस्तुति दिनुपर्ने नियम बनाइएको बताए ।

“करिब १५ वर्ष पहिले मादल, खैजरी, मजुरालगायतका स्थानीय बाजामा नारीका समस्या, बेदना र समाधान समेटिएका तीजका गीत भनिने हुन्थ्यो, गीतमा लय पनि फरक हुन्थ्यो”, उपप्रमुख अर्यालले भने, “अहिलेका तीजका गीत रत्यौली जस्ता छन्, नारीका समस्या, बेदना र समाधान भेटिँदैनन्, जसले गर्दा तीजको वास्तविक मर्म हराउँदै जान थालेको छ ।”

उनले तीजमा लगाउने पोशाक र तीजको दर खाने प्रवृत्तिमा पनि विकृति आएको बताए । “तीजमा सामान्य पोशाकमा रमाउने दिन हराएका छन्, महँगा कपडा र गहना लगाउनैपर्ने जस्तो देखिएको छ, होटल, पार्टीप्यालेसमै दर खानुपर्छ भन्ने नजिर पनि बस्न खोजे जस्तो छ”, अर्यालले भने, “यी दुवै खराब संस्कृतिका विरुद्ध पनि हामीले तीज गीत प्रतियोगितामार्फत अभियान चलाएका छौँ ।

हाल भिरकोटका नौवटै वडामा क्रमशः मौलिक तीज गीत प्रतियोगिता सञ्चालन भइरहेको छ । नगरपालिकाले तीज गीतको मौलिकता संरक्षण गर्न वडा तहदेखि नै मौलिकता समेटिएका शब्दमा मूल्याङ्कन गरेर प्रतिस्पर्धा गराएको हो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले महिलाहरुको समस्या गीतका माध्यमबाट जान्ने अवसर मिलेको बताए ।

“गीतका माध्यमबाट पोखिएका समस्या टिपेर समाधान गर्नेतर्फ नगरपालिका लाग्न सहज हुने देखिएको छ”, उनले भने, “मौलिक प्रतियोगितामा उत्साहजनक सहभागिता देखिएको छ, आशा छ नगरपालिकाको अभियान सार्थक बन्नेछ ।”

कार्यपालिका सदस्य विन्दु खड्काले भदौ २० गतेदेखि सुरु भएको प्रतियोगिता असोज १ गते हरितालिका तीजका दिन नगरपालिकाको सिटीहल बयरघारीमा समापन हुने जानकारी दिए । उनका अनुसार हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७ र ९ मा प्रतियोगिता सम्पन्न भएको छ भने शुक्रबार वडा नं ८ मा प्रतिस्पर्धा हुनेछ ।

वडामा विजेता भएका समूहबीच सिटी हलमा हुने फाइनल प्रतियोगितामा प्रतिस्पर्धा गराइने छ । खड्काले वडामा पहिलो हुने समूहलाई १५ हजार, दोस्रो हुने समूहलाई १० हजार, तेस्रो हुने समूहलाई पाँच हजार र सान्त्वनास्वरुप दुई हजार पुरस्कार दिइने बताए ।

वडामा पहिलो भएका आमासमूहले फाइनल प्रतिस्पर्धामा अनिवार्य सहभागिता जनाउनुपर्ने नियम छ । उनले फाइनल प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रो हुने समूहलाई १५ हजार, तेस्रो हुने समूहलाई १० हजार र सान्त्वनास्वरुप पाँच हजार नगदसहित प्रमाणपत्र दिइने जानकारी दिए ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?