२२ ,भाद्र ,काठमाडौँ । मानव अधिकारवादी सङ्घ, सङ्गठनका प्रतिनिधिहरूले आमजनताको नैसङ्र्गिक हकअधिकार सुनिश्चित गर्न राज्य, नागरिक समाज र अधिकारकर्मीका बीच आपसी सहयोग, सहकार्य र समन्वय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा लोकतन्त्र स्थापनापछि मुलुकमा मानवअधिकारको स्थिति सन्तोषजनक रहेको बताउँदै उनिहरूले अन्तर्राष्ट्रियस्तरमा पनि नेपालस्थित मानवअधिकारवादी सङ्घ, संस्थाहरूको विश्वसनीय छविसहित उच्च स्थान रहेको बताए ।
कार्यक्रममा अनौपचारिक शिक्षा सेवा केन्द्र (इन्सेक) अध्यक्ष डा कुन्दन अर्यालले समग्र राज्य संयन्त्रभन्दा पनि सरकारी ओहोदामा बस्ने केही व्यक्तिका कारण मानवअधिकार हनन हुने गरेको चर्चा गर्दै मानव अधिकर संरक्षणका लागि मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस सदैव सचेत र सजग हुनुपर्नेमा जोड दिए ।
इन्हुरेडका अध्यक्ष डा गोपालकृष्ण सिवाकोटीले यदाकदा प्रहरी प्रशासनबाट मानवअधिकार उल्लङ्घनको घटना सार्वजनिक हुनेगरेको उल्लेख गर्दै मानवअधिकारकर्मीहरूका बीच एकता र सहकार्य हुनुपर्नेमा जोड दिए ।
महिला पुनःस्थापना केन्द्र (ओरेक) की अध्यक्ष डा रेणु अधिकारीले सोही कार्यक्रममा सार्वजनिक इलाका प्रहरी कार्यालय, कञ्चनपुर, सप्तरीको हिरासतमा प्रहरीद्वारा बलात्कार भएको भनिएको घटनाको स्थलगत प्रारम्भिक अध्ययन प्रतिवेदनका सन्दर्भमा जानकारी दिँदै प्रहरी प्रशासनको ज्यादतिका विरुद्ध सम्पूर्ण मानवअधिकारकर्मी एक हुनुपर्ने धारणा व्यक्त गरे ।
अध्यक्ष डा अधिकारीले आफूसहित विभिन्न मानवअधिकारवादी सङ्घ सङ्गठनका प्रतिनिधि सम्मिलित पाँच सदस्यीय स्थलगत अध्ययन टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन तयार गरेको जानकारी दिँदै हाल राजविराज कारागारमा रहेकी कञ्चनपुरकी ३५ वर्षीय महिलामाथि इलाका कार्यालय कञ्चनपुरको हिरासतमा प्रहरीद्वारा अमानवीय र अपमानजनक व्यवहार भएकाले दोषी प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने धारणा व्यक्त गरे ।
मानव अधिकार सन्धि अनुगमन समन्वय केन्दमा देशभरका मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घ सङ्गठन आबद्ध भएको सो अवसरमा बताइयो ।
प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार