Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या


२२ ,भाद्र ,भोजपुर । भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो ।

सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ । वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । \

सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ ।

सर्पको डसाइको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताए । “समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ”, उनले भने, “खेतबारीमा काम गर्नैपर्यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ । सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ । सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ ।”

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन् । तर सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ । प्रायः यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन् ।

समयमा उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिबहादुर लम्सालले बताए । सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

सर्पले डसाइपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले गाउँघरमा धेरैको ज्यान जाने गरेको अवस्था रहेको उनले बताए ।

सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ ।

सर्प घस्रने प्रजातिको एक प्राणी हो । गर्मी बढेसँगै आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन् । सर्पको विषलाई निकै खतरनाक मान्निछ । नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ ।

यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञहरूका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु)लाई क्षतिग्रस्त पार्छ ।

यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तश्राव हुने चिकित्सकको भनाइ छ । विषमा रहेको न्यूरोटाक्सिन स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ । सर्पको डसाइबाट शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?