Trending
>>   हिंसा र लुटपाटमार्फत सरकारबाट हटाइयो, आयोगहरुले निष्पक्ष छानविन गर्नुको सट्टा आरोपित गर्ने काम गरेः ओली >>   भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति >>   मोडिफाई गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा >>   आन्दोलनको मानसिकता बनाएर बस्नू, कुनैपनि बेला आन्दोलनमा जानुपर्ने हुनसक्छ: केपी ओली >>   १९ विधामा उत्कृष्ट करदाता सम्मानित, सूर्य नेपालदेखि नबिल बैंकसम्म पुरस्कृत >>   ५० करोडसम्म कारोबार गर्ने कम्पनीमध्ये सर्वाधिक कर तिर्ने इम्पेरियल सेक्युरिटिज सम्मानित >>   मकवानपुरमा ६ किलो चरेससहित दुई जना पक्राउ >>   महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित) >>   आईजीपी हटाउने विषयमा रास्वपाले सरकारलाई कुनै निर्देशन दिएको छैनः प्रवक्ता खरेल >>   रास्वपाको २० सदस्यीय टोली १० दिने चीन भ्रमणमा, तीन विषयमा केन्द्रित हुने
Logo
१ मंसिर २०८३, मंगलवार
१ मंसिर २०८३, मंगलवार

गोसाइँकुण्डका तीर्थयात्रु शुलाद्री पर्वत चढ्न थाले


९ भदाै, रसुवा । निलाद्री पर्वतमा विराजमान रहेका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन सुरु भएको छ । भोलि आइतबार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवं पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटेल व्यवसायीमार्फत होटेल, लज तथा थर्कुको व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खानाको दरभाउसमेत निर्धारण गरिसकिएको उनले जानकारी दिए ।

“यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको व्यवस्थापन गरेका छौँ”, डिएमले भने, “अन्य आवश्यक सहयोगका लागि स्वयं सेवक परिचालन गरिएको छ ।” उनले यात्रुका लागि आवश्यक पर्ने सम्पूर्ण प्रारम्भिक सेवा उपलब्ध गराउने गरी तयारी पुरा भएको जानकारी दिए । विशेष गरी तीर्थ यात्रुलाई लेक लाग्ने समस्या बढी देखिने भएकाले नेपाली सेना चोलाङपाटी र हिमालय उद्धार सङ्घको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरी उपचारको व्यवस्था मिलाइएको समितिका अध्यक्ष डिएमले बताए ।

गोसाइँकुण्डमा प्रत्येक वर्ष गङ्गा दशरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन गरी वर्षको १५ दिन विशेष मेला लाग्ने पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए । जीवनमा एक पटक पुग्नुपर्ने तीर्थ गोसाइँकुण्ड भएको जनाउँदै उनले यहाँ पुग्दा प्राकृतिक र धार्मिक दृष्टिले आनन्द प्राप्त हुनुका साथै मनोकामना पुरा हुने विश्वास व्यक्त गरे । “पवित्र तीर्थ गोसाइँकुण्ड समुद्र सहतदेखि १४ हजार एक सय फिटको उचाइमा पर्दछ । यहाँ स्नान गरी पूजाआरधना गर्नाले सबै कार्य सिद्ध हुने धार्मिक मान्यता रहिआएको छ”, उनले भने ।

कुण्ड क्षेत्र बागमती प्रदेशअन्तर्गत रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-५ मा अवस्थित रहेकाले उक्त गाउँपालिकाले यहाँ आउने यात्रुका लागि बासस्थान, खाना, उपचारलगायतको व्यवस्थापनमा समन्वय गरिरहेको स्थानीयले बताएका छन् ।

सम्पूर्ण देवदेवताले जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा बास लिने धार्मिक विश्वास रहिआएको पुरोहित ढकालले बताए। “जनैपूर्णिमाका दिन सम्पूर्ण देवदेवता यहाँ बास बस्न आउने धार्मिक विश्वास छ । त्यसैले यस अवसरमा यहाँ मेला लाग्ने गर्दछ”, उनले भने, “यस कुण्डमा स्नान गरी दर्शन गर्नाले सबै देवताको दर्शन एकैथलोमा मिल्न गई आफ्ना सबै मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।”

यस वर्ष भदौ १४ गते जनैपूर्णिमा पर्व परेको छ । उक्त दिनसम्म करिब १५ हजार भक्तजनलाई गोसाइँकुण्ड पुर्‍याउने लक्ष्य राखिएको गोसाइँकुण्ड क्षेत्रविकास समितिले जनाएको छ । समितिका साथै जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारलगायत निकायको सहयोगमा गोसाइँकुण्ड मेला व्यवस्थापन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकासचन्द्र अधिकारीले बताए । तीर्थयात्रुको सुरक्षारार्थ रसुवाको प्रवेशद्वार बेत्रावतीदेखि गोसाइँकुण्डसम्म आवश्यक सुरक्षा जनशक्ति परिचालन गरिसकिएको बताउँदै उनले सम्पूर्ण यात्रुलाई निर्धक्क साथ यात्रा गर्न अनुरोध गरे ।

प्रजिअ अधिकारीले कसलाई पनि यात्राका क्रममा सुरक्षा वा अन्य कुनै सहयोग आवश्यक परेमा जिल्ला प्रशासन कार्यालय रसुवाको मोबाइल नं ९८५१२७७७७७, जिल्ला प्रहरी कार्यालयको मोबाइल नं ९८५१२७५५५५ वा ०१०५४०१९९ मा खबर गर्नसमेत सम्पूर्ण भक्तजनलाई आग्रह गरे ।

यात्राको क्रममा लेक लाग्ने समस्याका बिरामी यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए । यात्रुले प्रयोग गरेका सवारीसाधन व्यवस्थापनका लागि धुञ्चेमा पार्किङस्थल निर्माण गरेको जनाउँदै प्रजिअ अधिकारीले पार्किङस्थल सुरक्षा तथा व्यवस्थापनका लागि स्थानीय तहले स्वयं सेवक परिचालन गरेको बताए ।


प्रकाशित मिति: ९ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?