Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै


राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफँै प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न थालिएको सहकारी संस्थाका व्यवस्थापक भवानीप्रसाद शर्माले बताउनुभयो ।

“जिल्लाको उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाउन धुलो कफी बिक्री गर्न थालिएको हो । कृषकले आफूले उत्पादन गरेको फ्रेस चेरी जिल्ला कफी सहकारी सङ्घले खरिद गर्ने र विदेश निर्यात गर्ने गरेको भए पनि विभिन्न झन्झट बेहोर्नुपर्ने भएकाले आफैँ धुलो बनाएर बेच्न सुरु गरेका हौँ”, शर्माले भन्नुभयो । धुलो बनाएर बेच्दा स्थानीय बजारका साथै विभिन्न मेला महोत्सवमा समेत जिल्लाको कफीको प्रचार हुने भएकाले यसरी बेच्न सुरु गरिएको शर्माले बताउनुभयो । उहाँका अनुसार अहिले जिल्लाको कफी पोखरा काठमाडौँका तारे होटल तथा क्याफेले खरिद गर्दै आएका छन् भने पोखरा, बागलुङ र पर्वतका सौगात गृहमा समेत राम्रो बिक्री हुने गरेको जानकारी दिनुभयो । पर्वतमा बर्सेनि २० मेट्रिक टनभन्दा बढी कफी उत्पादन हुने गरेको छ । कृषकले उत्पादन गरेको कफी फ्रेस चेरी तथा ‘पार्चमेन्ट’ जिल्ला कफी सहकारीले खरिद गरेर विभिन्न निर्यात गर्ने कम्पनीलाई बिक्री गर्दै आएको छ । यसबाट जिल्लामा प्रत्येक वर्ष रु एक करोडभन्दा बढी भित्रिने गरेको छ । यस जिल्लाका विभिन्न ठाउँमा उत्पादन हुने कफी केही वर्षअघिसम्म त्यत्तिकै खेर जाने गरेको थियो । अहिले जिल्लाका सबै स्थानीय तहका साथै बागलुङ र म्याग्दीमा उत्पादित कफी स्थानीय बजारका साथै विदेशी बजारमा समेत निर्यात हुन थालेसँगै कृषकले राम्रो मूल्यसमेत पाएका छन् ।

सहकारीका अनुसार गत वर्षमात्रै १७ टन कफी निर्यात भएको थियो । अहिले जिल्लाका ३५ वडामा कफी खेती हुँदै आएको छ । पछिल्लो समय जिल्लाका अधिकांश ठाउँमा नयाँ कृषकले व्यावसायिक कफी खेती सुरु गरेको भए पनि पुराना कृषकले राम्रो मूल्य पाउन नसक्दा बोटमै सुकेर जाने गरेको कृषकको भनाइ छ । बजारीकरणका लागि जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहहरूले समन्वय नगर्दा पनि कृषक निराश बनेका हुन् । उपयुक्त भौगोलिक र हावापानीका कारण पनि पर्वतमा उत्पादित कफीले राम्रो बजार पाउनुपर्ने भए पनि स्थानीय तहमा समेत प्रचारप्रसार हुन नसक्दा बजारीकरणमा समस्या भएको शर्माको भनाइ छ ।


प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?