Trending
>>   प्रधानमन्त्रीको मिसन र भिजनअनुसार काम गर्न कटिवद्ध छुः नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिना >>   नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण >>   नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्हाले पदभार, गरे तीन महत्वपूर्ण निर्णय >>   वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौंः नवनियुक्त शिक्षामन्त्री पोखरेल >>   कुरा गरेर देश बन्दैन, श्रमदान अपरिहार्य छः हर्क साम्पाङ्ग >>   नवनिर्वाचित मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ ग्रहण >>   प्रधानमन्त्री साहद्वारा पद तथा गोपनियताको शपथग्रहण >>   बालेनको नेतृत्वमा १५ सदस्यीय क्याबिनेट, पाँच महिला समावेश >>   बालेन क्याबिनेटको चित्र स्पष्ट: कुन मन्त्रालय कसलाई ? >>   बालेन शाह प्रधानमन्त्री बनेपछि डा. बाबुराम भट्टराईको शुभकामना
Logo
१३ चैत्र २०८२, शुक्रबार
१३ चैत्र २०८२, शुक्रबार

आर्थिक समृद्धि सिर्जना गरेर समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने कांग्रेसकाे लक्ष्य हो: प्रवक्ता डा. महत


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले कांग्रेसकाे लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने भएकाे बताउनुभएकाे छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३(२) को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै डा. महतले भन्नुभयो, ‘विचार र सिद्धान्तका हिसाबले हामी ठीक ठाउँमा छौं । हाम्रो लक्ष्य भनेको आर्थिक समृद्धि सिर्जना गर्ने र त्यो समृद्धिको पहुँचमा हरेक नागरिकलाई पुर्याउने हो, प्रवक्ता डा. महतले भन्नुभयो, ‘समृद्धि केही व्यक्तिमा सीमित हुनु भएन । समृद्धि हासिल गर्न पार्टी बलियो बनाउनुपर्छ । हामी पार्टी बलियो हुने मिसनमा लागौं । हरेक दिन हामी काम गरौं र त्यो कामको प्रचार पनि गरौं ।’

डा. महतले संगठनमा एक व्यक्तिलाई अपरिहार्य बनाउन नहुने तर्क गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो व्यवस्थापनको सिद्धान्त हो । यो नभई केही हुँदैन भनियो भने त्यो संगठनको असफलता हो ।’

‘कोही व्यक्ति छैन भने अर्को आउँछ, पार्टी अविछिन्न अघि बढ्छ । पार्टी बलियो हुन्छ, संगठन निरन्तर अघि बढ्छ भन्ने सिद्धान्तमा पार्टी चल्नुपर्छ’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘त्यसकारण हामीले हाम्रो सम्पूर्ण शक्तिलाई जोड्नुपर्छ । सोच्ने, बोल्ने, लेख्ने, बाटो देखाउने सबैलाई एक ठाउँमा जोडनुपर्छ । यी सबै जोड्यो भने पार्टी बलियो हुन्छ, मिसन सफल हुन्छ ।’

‘एक्लैले केही हुनेवाला छैन, हामी सबैमा भएको क्षमता र गुणलाई जोडौं भने मात्र कायापलट हुन्छ । कसैको बोल्ने क्षमता होला, कसैको संगठन गर्ने क्षमता होला, कसैको नबोली राजनीति कता जाँदैछ भनेर विश्लेषणसहित निर्णय गर्ने क्षमता होला’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘कोही पनि सर्वगुण सम्पन्न हुँदैन । हनुमानले पहाड उचालेजस्तो कांग्रेसमा एक्लै पार्टी उचाल्ने मान्छे कोही छैन । सबैको बल र बुद्धि उपयोग गरियो भने मात्र पहाड उचाल्न सक्छौं ।’

‘सामाजिक सञ्जालको अवसर र चुनौतिको बीचमा जनतामाँझ सही कुरा सुसूचित गर्ने अधिकार र त्यसका आधारमा दृष्टिकोण बनाउने अधिकारलाई कसरी सुनिश्चित गर्ने चुनौतिका बीचमा हामी छौं । नयाँ पार्टीले आधा मिनेटको टिकटकमा समाजसेवा गर्छन्, अस्पतालमा पुर्याउँछन्’ उहाँले भन्नुभयो, ‘कार्यालयमा काहिँ सहयोग गरेको देखाउँछन् । यो दृश्य पटक पटक देखिन्छ । खोल्यो कि त्यही देखिन्छ । गज्जब गरेछन् भनेर हाम्रो ब्रेन वास हुन थाल्छ ।’

यथार्थमा कांग्रेस कार्यकर्ताले त्योभन्दा बढी यो समाजमा सहयोग गरिरहेका बताउनु हुँदै डा. महतले भन्नुभयो, ‘यी कुरा भिडियो खिचेर देखाउनुपर्छ भनेर हामीले सोचेनौं । यस्ता काम हामी सधैं गरिरहेका हुन्छौं, देशैभरि हाम्रा साथीहरुले गरिरहेका हुन्छन्, तर कांग्रेसले देखाउनका लागि गरेका छैनन् । देखाउने हाम्रो लक्ष्य होइन, हाम्रो लक्ष्य काम गर्ने हो ।’

कांग्रेस र अन्य दलको फरक देखाउँदै प्रवक्ता डा. महतले भन्नुभयो, ‘यो फरक हामीले जनतालाई बुझाउनुपर्छ । अब हामीले सूचना प्रविधिको पनि उपयोग गर्नुपर्छ । गरेको काम अब कांग्रेसले पनि देखाउनुपर्छ । यदि यो काम गरेनौं भने बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भन्ने भनाइ पुष्टि हुन्छ ।’

म चाहिँ ठूलो, राम्रो र योग्य, म भए पार्टीको कायापलटै गर्दिन्थे, अरु भएर बिग्रेको हो भनेर हामी सामाजिक सञ्जालमा बढी समय खर्चिन्छौं । यसको सट्टा हामीले पार्टीको इतिहास, सिद्धान्त, गरेका काम, गरिरहेका काम र गर्ने कामका बारेमा सामाजिक सञ्जालमा समय खर्चिऔं भने मात्र हाम्राे मिसन सफल हुने उहाँले बताउनुभयो ।


प्रकाशित मिति: २ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?