काठमाडौँ। दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकले अनुमान गरेको छ ।
विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको पछिल्लो ‘साउथ एशिया इकोनोमिक अपडेट’ प्रतिवेदनले यसअघि गरिएको अनुमानभन्दा बढी आर्थिक वृद्धि हुने देखाएको हो । प्रतिवेदन अनुसार विश्व अर्थतन्त्रमा विभिन्न चुनौती देखिए पनि दक्षिण एशियाको आर्थिक वृद्धि २०२६ मा ६.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । पछिल्लो समय आन्तरिक माग बढिरहेको, विप्रेषण आप्रवाह र संरचनात्मक सुधारका कारण अर्थतन्त्रमा निकै सुधार आइरहेको विश्व बैंकको ठम्याई छ ।
विश्व बैंकले सन् २०२७ मा भने दक्षिण एशियाको आर्थिक वृद्धि केही सुस्त भएर ६.७ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । दक्षिण एशियाका देशहरुमा मुद्रास्फीति बढ्नुका साथै वित्तीय अवस्था चुनौतिपूर्ण बनिरहेकोकारण केही सुस्त हुनसक्ने अनुमान छ ।
भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंककाे प्रक्षेपण छ ।
त्यस्तै, विश्वव्यापी रूपमा कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीमा ठूलो गिरावट आए त्यसले वित्तीय क्षेत्रमा समेत दबाब सिर्जना गर्नसक्ने विश्व बैंकको आँकलन छ । विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष जोहानेस जुटले कठिन परिस्थितिका बाबजुद दक्षिण एसियाले आफ्नो आर्थिक लचकता देखाएको बताउनुभएको छ । तर, अहिलेको वृद्धिलाई निरन्तरता दिन र पर्याप्त रोजगारी सिर्जना गर्न नयाँ आर्थिक अवसरमा लगानी बढाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँकाअनुसार विश्वव्यापी रूपमा विस्तार भइरहेको एआईसम्बन्धी उत्पादन तथा सेवा सञ्जालबाट लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति तयार पार्नुपर्छ, पूर्वाधारमा लगानी बढाउनुका साथै र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।
दक्षिण एसियामा एआईको प्रयोग बढ्दै गए पनि विकसित देशहरुको तुलनामा यो अझै कमजोर अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । भारतका करिव २३ प्रतिशत कम्पनीले एआई प्रयोग गरिरहेको बताएका छन् । अमेरिकामा यस्तो अनुपात ४३ प्रतिशत छ । अझ स्तरीय प्रविधिमा आधारित एआई प्रयोगको अन्तर भने योभन्दा ठूलो छ ।
यद्यपि, एआईको प्रयोगले दक्षिण एशियाली व्यवसायका लागि नयाँ बजार खोज्ने र निर्यातका अवसर विस्तार गर्ने सम्भावना बढाएको छ । विशेषगरी विश्वव्यापी एआई मूल्य श्रृंखलासँग जोडिएका दक्षिण एशियाली आपूर्तिकर्ताले यसबाट लाभ लिनसक्ने प्रतिवेदनमा उल्लेख छ ।
एआईलाई केवल प्रविधिको रूपमा मात्र नभई उत्पादकत्व बढाउने र नयाँ रोजगारीका अवसर सिर्जना गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्ने विश्व बैंकको ठम्याई छ ।
विश्व बैंककाअनुसार एआईको प्रयोगबाट सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने सम्भावना पनि दक्षिण एशियामा ठूलो छ । स्वास्थ्य, शिक्षा र कृषिजस्ता क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेकाले प्रविधिको उपयोगबाट सेवा विस्तार गर्न सकिनेछ । भारतमा किसानलाई एआईमा आधारित मौसम पूर्वानुमान उपलब्ध गराउने र बंगलादेशमा आँखाको रेटिनाको परीक्षणमा एआईको सहयोग लिने अभ्यास उदाहरणीय रहेको विश्व बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ । तर प्रविधिको लाभ सबै नागरिकसम्म पु¥याउन स्थानीय आवश्यकता र अवस्थाअनुसार एआई प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनले सुझाएको छ । सामान्य मोबाइल वा आधारभूत उपकरणमा चल्ने र कमजोर इन्टरनेट सुविधामा पनि प्रयोग गर्न सकिने एआई प्रणाली दक्षिण एसियाका लागि बढी उपयोगी हुन सक्ने विश्व बैंकले जनाएको छ ।
विश्व बैंक समूहकी एसिया क्षेत्रकी प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सोर्गेका अनुसार एआईको प्रयोगले श्रम उत्पादकत्व बढाउन सघाउ पु¥याउन सक्छ । निर्यातका अवसर विस्तार गर्न र सार्वजनिक सेवा सुधार गर्न समेत यो उपयोगी हुने उहाँले बताउनुभएको छ । तर, त्यसका लागि सरकारले प्रविधिको प्रयोगमा बाधा पु¥याइरहेका आधारभूत समस्या समाधान गर्न आवश्यक रहेको उहाँले बताउनुभएको छ ।
एआईबाट अधिकतम लाभ लिन दक्षिण एशियाली देशहरूले दक्ष जनशक्ति उत्पादन, डिजिटल तथा भौतिक पूर्वाधार विकास र व्यवसायमैत्री वातावरण निर्माणमा ध्यान दिन जरुरी रहेको विश्व बैंकले जनाएको छ ।
विश्व बैंककाअनुसार साना तथा मझौला व्यवसायमा एआईको प्रयोग सहज बनाउन सक्नुपर्छ । स्थानीयस्तरमा प्रविधि विकासलाई प्रोत्साहन गर्न र एआईसम्बन्धी स्पष्ट नीतिगत तथा नियामकीय व्यवस्था लागू गर्नुपर्छ । तथ्यांकको सुरक्षा र गोपनीयता सुनिश्चित गर्दै एआईको प्रयोगसम्बन्धी दुविधा घटाउनसके व्यवसाय तथा उद्योगमा यसको उपयोग बढाउन सकिने विश्व बैंकको विश्वास छ ।
प्रकाशित मिति: २० आश्विन २०८३, मंगलवार