Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’


‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’

काठमाडौँ ।अहिले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण राजधानीमा चलिरहेको छ ।

एनपीएल जारी रहँदा यसको प्रत्यक्ष लाभ पर्यटन क्षेत्रले समेत लिइरहेको छ । एनपिएल अन्तर्गतका खेल खेल्न विभिन्न देशका दर्जनौ खेलाडीहरु नेपालमा आएका छन्, उनीहरुको बसाइँ ठूलाठूला होटलमा भइरहेको छ । यसले होटल पर्यटन क्षेत्रलाई माथि उठाउन सघाउ पुगेको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाह बताउनुहुन्छ ।

शाहकाअनुसार एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकारात्मक भुमिका खेलेको छ । प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज टिम ठूला होटलसँग आवद्ध हुनु र खेलाडी, प्रशिक्षक तथा अन्य सदस्यले लामो समयसम्म होटलमा सेवा लिनुले आतिथ्य उद्योगमा प्रत्यक्ष प्रभाव पारेको छ । एनपीएलमा सहभागी सुदूरपश्चिम, विराटनगर, लुम्बिनी र चितवनलगायतका फ्रेन्चाइज टिमका समर्थकहरू आफ्ना टिमको खेल हेर्न विभिन्न ठाउँबाट आएर होटलमै बसिरहेका छन् । यसले होटल तथा आवास, खानपान र यातायातलगायतका क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग पुर्याएको शाहको भनाई छ । प्रतियोगिताका क्रममा स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकले महिनादिनसम्म होटलमा सेवा लिने भएकाले होटल व्यवसायलाई समेत लाभ पुगेको उनले बताएका छन्

शाहले एनपीएललाई केवल क्रिकेट प्रतियोगिताका रूपमा मात्र नहेरी पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा विकास गर्नुपर्नेमा बताए । नेपालमा खेलिने प्रतियोगितालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउन सके दक्षिण एशियाका क्रिकेटप्रेमीलाई नेपाल भ्रमणका लागि आकर्षित गर्न सकिने उनको भनाइ छ । उनकाअनुसार अब एनपीएललाई आधार बनाएर स्पोट्र्स टुरिजमलाई योजनाबद्ध रुपमा अघि बढाउनुपर्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलले मान्यता पाउनु पनि नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर हो । यसलाई उपयोग गर्दै विदेशी खेलाडी तथा टिमको सहभागिता बढाउन र नेपालमा थप अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सके खेलकुद पर्यटनको दायरा विस्तार गर्न सकिन्छ । विशेषगरी दक्षिण एसियाका ठूला क्रिकेट राष्ट्रका फ्रेन्चाइज टिमलाई नेपालमा ल्याएर खेलाउने सम्भावनामा ध्यान दिनुपर्ने शाहको भनाइ छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसँगै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने सम्भावना बढेको उल्लेख गर्दै उहाँले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउनुपर्ने बताएका छन् ।

स्पोर्ट्स टुरिजम प्रवद्र्धनका लागि विभिन्न क्षेत्रबीच सहकार्य भइरहेको भएपनि त्यसलाई ठोस योजना र व्यवस्थित कार्यक्रममार्फत अगाडि बढाउन आवश्यक रहेको उनको भनाई छ । उनका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) र क्रिकेटलाई आधार बनाएर स्पोट्र्स टुरिजम प्रवद्र्धन गर्नुपर्छ ।

अध्यक्ष शाहले भने, ‘एनपीएलले एउटा राम्रो सकारात्मक सन्देश दिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले क्रिकेटमार्फत राम्रो प्रदर्शन गरिरहेको छ । यसले पर्यटनमा पनि प्रत्यक्ष प्रभाव पार्ने र फाइदा पुर्याउने देखिन्छ। अहिले एनपीएलका आठवटा फ्रेन्चाइज टिम छन् । तीमध्ये प्रत्येक टिम कुनै न कुनै ठूला होटलसँग आबद्ध छ । यो आफैँमा राम्रो कुरा हो । देशभरिका फ्रेन्चाइज टिमहरू छन् । सुदूरपश्चिम, विराटनगर, लुम्बिनी, चितवनलगायतका टिमका समर्थकहरू आफ्नो टिमको खेल हेर्न आउँछन् । त्यसले नेपालको आतिथ्य उद्योग, आवास, खानपान र यातायातलगायतका क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्छ । यसमा स्पोट्र्स टुरिजमलाई अगाडि बढाउनुपर्छ । एनपीएल र क्रिकेटलाई नै आधार बनाएर हामीले स्पोट्र्स टुरिजम प्रवद्र्धन गर्न सक्छौँ । भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाजस्ता टेस्ट खेल्ने राष्ट्रहरूबाट पनि पर्यटक ल्याउन सकिन्छ । ती देशका खेलाडीहरू नेपालमा आएर खेलिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि एनपीएललाई मान्यता दिइसकेको छ । अहिले स्टार स्पोट्र्सजस्ता टेलिभिजन च्यानलमार्फत धेरैले एनपीएल हेरिरहेका छन् । त्यसैले नेपाललाई पर्यटन गन्तव्यका रूपमा चिनाउन पनि यसको उपयोग गर्नुपर्छ । स्पोट्र्स टुरिजम बढाउने विषयमा हामी सहकार्य गरिरहेका छौँ । तर, एउटा ठोस योजना बनाएर योजनाबद्ध रूपमा अगाडि बढ्न सके देशले अझ बढी फाइदा लिन सक्छ। एनपीएलले स्पोट्र्स टुरिजमको ठूलो सम्भावनाको ढोका खोलेको छ । ठूला फ्रेन्चाइज टिमहरू ठूला होटलसँग आबद्ध छन् । उनीहरूका स्वदेशी तथा विदेशी खेलाडी र प्रशिक्षकहरूले पनि त्यही होटलमा सेवा लिइरहेका छन् । करिब दुईदेखि तीन हप्ता वा महिनादिनसम्म चल्ने प्रतियोगिताका कारण होटल व्यवसायमा राम्रो प्रभाव पर्छ । यसलाई अझ व्यवस्थित गर्नुपर्छ । हामीले दक्षिण एसियाका ठूला क्रिकेट खेल्ने राष्ट्रहरू, विशेषगरी भारतका टिमहरूलाई नेपालमा ल्याएर खेलाउन सक्छौँ । अहिले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान पनि स्तरीय भइसकेको छ । त्यसैले विदेशी टिमहरूलाई नेपालमा ल्याएर खेलाउने सम्भावनातर्फ पनि ध्यान दिनुपर्छ ।’

अध्यक्ष शाहले अहिले नेपालमा पर्यटक भित्राउन अनुकूल मौसम रहेको पनि बताए । उनका अनुसार दसैँ सकिएर तिहार नजिकिएको यस समयमा विदेशी पर्यटकको रुचि विशेषगरी पदयात्रा तथा शाहसिक पर्यटनमा रहने गरेको छ । मौसम अनुकूल भएकाले यस अवधिमा धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सकिन्छ । तर रसुवा र भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न परिस्थितिले पर्यटक आगमनमा केही असर पारेको छ । उक्त घटनापछि नेपाल भ्रमण गर्न सुरक्षित छ कि छैन भन्ने विषयमा विदेशी पर्यटकले बढी सोधपुछ गरिरहेका छन् । मौसमसम्बन्धी अनिश्चितताले पनि पर्यटकको निर्णयमा प्रभाव पार्न सक्ने भएकाले नेपालका पर्यटन गन्तव्यको अवस्था, सुरक्षा र उपलब्ध सेवाबारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट सूचना प्रवाह गर्नुपर्ने उनको बुझाइ छ । उनकाअनुसार कुनै एउटा क्षेत्रमा समस्या देखिँदैमा समग्र नेपालकै पर्यटन प्रभावित हुने गरी सन्देश जान नदिन सरकारी निकायले समन्वय गर्न आवश्यक रहेको शाहले बताएका छन् ।

शाहकाअनुसार नेपालमा पर्यटनको सम्भावना र सेवा दिनसक्ने क्षमता बढे पनि अपेक्षाअनुसार पर्यटक भित्राउन सकिएको छैन । यसको मुख्य कारण अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटीको सिमितता हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले करिव एक महिनाअघि उडान शुरु गरेको बताउँदै उनले अन्य अन्तर्राष्ट्रिय उडान विस्तार गर्न सके पर्यटक आगमन बढाउन सहयोग पुग्ने बताएका छन् । उनकाअनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुन नसक्दा नेपालले पर्यटनको सम्भावनाअनुसार लाभ लिन सकेको छैन ।

नेपालका होटलहरूले वार्षिक ३५ देखि ४० लाखसम्म पर्यटकलाई सेवा दिनसक्ने क्षमता बनाइसकेको छन् । तर नेपाल आउने पर्यटकको संख्या भने वार्षिक ११ देखि १२ लाखको हाराहारीमा रहेको छ । होटल तथा पर्यटन क्षेत्रमा भएको लगानीको प्रतिफल प्राप्त गर्न पर्यटकको संख्या बढाउनु आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन गन्तव्यको प्रभावकारी प्रचारप्रसार र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगितालाई पर्यटनसँग जोड्ने रणनीति एकसाथ अघि बढाउनुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: १२ कार्तिक २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?