Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
३१ असार २०८२, मंगलवार
३१ असार २०८२, मंगलवार

गलकोटलाई बालमैत्री नगर घोषणा गरिँदै


बागलुङ जिल्लाको गलकोट नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम चरणमा पुगेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गर्दै नगरपालिकाका ११ वटै वडा बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले उपल्लो तहमा सिफारिस गरिसकेको छ । बालमैत्री नगर घोषणासँगै जिल्लाको १० पालिकामध्ये पहिलो बालमैत्री पालिका गलकोट हुनेछ । नगरपालिकाले यही फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा गर्नका लागि ११ वटै वडामा बालमैत्री वडा घोषणाका लागि आवश्यक ५१ सूचक पूरा गरेर जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाले जनाएको छ । गलकोटले बालमैत्री नगरपालिका घोषणाका लागि २०७७ मङ्सिरबाट सूचक पूरा गर्नका लागि आवश्यक पूर्वाधार र अभिमुखीकरणलगायतका काम थालेको थियो । नगरपालिकाले दुई वर्षदेखि ११ वडामै सहजकर्ता र एक अधिकृतस्तरको कर्मचारीसमेत खटाएको थियो ।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारलगायतका सूचक पूरा गरेर प्रमाणीकरणका लागि जिल्ला समन्वय समितिमा पठाइएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । “नगरपालिकाले दुई वर्षदेखि अथक प्रयास गरेर नगरलाई बालमैत्री नगरपालिका घोषणाका लागि बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका सबै सूचक पूरा गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यका सबै सूचकामा शतप्रतिशत नतिजा हासिल भइसकेको छ, शिक्षा, खानेपानी, बालविवाह, मालमैत्री संरचना, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन भइरहेको छ, केही पुराना संरचना बालमैत्री छैनन्, सुधार गर्न सक्नेलाई बालमैत्री बनाइयो, नगरपालिकाले नयाँ निर्माण गर्ने संरचना बालमैत्री बन्ने गरी नक्सा पास गर्ने गरेको छ, बालविवाह अन्त्यका लागि सेचतनामूलक कार्यक्रम गरिरहेका छौँ ।” नगरप्रमुख गैरेका अनुसार जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको जिल्लास्तरीय बाल कल्याण समितिले नगरपालिकाका विभिन्न वडाको अनुगमन गरिसकेको छ । नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि लगानी सम्मेलन, वडास्तरमा बाल सञ्जाल गठन, विद्यालय, अस्पाताल, वडा कार्यालय, प्रहरी चौकी तथा सामाजिक सङ्घसंस्थालाई बालमैत्री बनाइसकेको छ । नगरपालिकाले यसका लागि हालसम्म रु दुई करोड ५० लाख रकम खर्च गरिसकेको छ ।

जिल्लास्तरीय समितिले निर्णयपश्चात गण्डकी प्रदेशस्तरीय समितिले अनुमोदनपश्चात बालमैत्री वडा घोषणा हुने छ । बालमैत्री वडा घोषणाका लागि नगरपालिकाले पठाएको ११ वटै वडाको सूचकको प्रतिवेदनका आधारमा अनुगमन गरिसकेको र २२ सामान्य बुँदामा सुझाव पेस गरिसकेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । “अनुगमनका क्रममा धेरै सूचक पूर्णरूपमा पूरा भएको र केही सूचक मापदण्डअनुसारका पाइयो, कतिपय सूचक यस्ता छन् जुन तत्कालै गर्न र देख्न सम्भव छैनन्, जसलाई नगरपालिकाले निरन्तररूपमा बजेट विनियोजन गरेर कार्यक्रम गर्दै जानु पर्दछ”, उहाँले भन्नुभयो, “मुख्य कुरा भौगोलिक समस्याका कारण केही विद्यालयमा बालमैत्री संरचना बनाउनसमेत समस्या छ, भिरालो जग्गा छ यो गलकोटको मात्र समस्या हैन, कतिपय सूचक विस्तारै शतप्रतिशत पूरा हुने गरी काम भइरहेको देखियो, अनुगमनपश्चात २२ बुँदे सुझाव पेस गरेका छौँ ।

जसमध्ये नगरपालिकाले तत्कालै चार–पाँच सूचकलाई थप प्रमाणीकरण गर्ने देखिएको छ, पुनः सुझाव कार्यान्वयनमा आएपछि अझै एकपटक अनुगमन गरेपछि मात्रै घोषणाका लागि अनुमति दिन्छौँ ।” गलकोट नगरपालिका फागुनभित्रै बालमैत्री नगरपालिका घोषणा भएमा गण्डकी प्रदेशको चौथो बालमैत्री पालिका र साविक धवलागिरि अञ्चलको पहिलो पालिका हुनेछ । बालमैत्री नगरपालिका घोषणपश्चात नगरपालिकाले बालमैत्री नगरपालिका कायम गर्नका लागि निरन्तर बजेट विनियोजन तथा कार्यान्वयन गर्दै लैजानुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार बालमैत्री नगरपालिका घोषणापश्चात थुप्रै मानव विकासका कार्य गर्न सकिने र यसलाई प्रभावकारी बनाउनका लागि हाल पूरा भएका सूचकले सहयोग पु¥याउनेछन् ।

नगरपालिकाले चुनौतीपूर्ण सूचक तथा मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा निरन्तर समावेश गर्दै आएको अनुगमनका क्रममा पाइएको जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिनुभयो । बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालविवाह, बालसहभागिता, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता र बालश्रमको अन्त्यलगायतका ५१ सूचक पूरा गरेमा नगरपालिका बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्ड रहेको छ ।


प्रकाशित मिति: २ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?