Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोकाहा औद्योगिक क्षेत्र चर्चामै सीमित


नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएको करिब चार वर्ष बितिसकेको छ । कावासोती नगरपालिका-१ र देवचुली नगरपालिका वडा नं ९, १० र १५ लाई छुने गरी निर्माण हुने भनिएको उक्त औद्योगिक क्षेत्र निर्माणको कामले हालसम्म ठोस काम भने हुनसकेको छैन । लोकाहामा रहेको करिब एक सय ८० बिघा क्षेत्रफलमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना छ । गण्डकी प्रदेश सरकारले समेत यहाँ औद्योगिक क्षेत्र निर्माणका लागि पहल गरेको लामो समय भइसकेको छ ।

कावासोती–१ का वडाध्यक्ष तबारक अहमद मियाँले चर्चा चलेको धेरै भए पनि काम भने अघि बढ्न नसकेको बताउँदै औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । लोकाहामा औद्योगिक क्षेत्र निर्माणका लागि स्थानीयस्तरबाट आफूहरूको सहयोग र समन्वय रहने उहाँको भनाइ छ । “हाम्रो वडाभित्र पर्ने भएकाले हामीले यसलाई सकारात्मकरूपमा लिएका छौँ, तर काम भने छिटो सुरु गर्नुपर्छ भन्ने हाम्रो माग हो”, उहाँले भन्नुभयो । लोकाहामा औद्योगिक क्षेत्र निर्माणको चर्चा सुरु भएयता गण्डकी प्रदेशदेखि सङ्घका विभिन्न मन्त्रीहरूले स्थलगत अवलोकन गरिसकेका छन् । औद्योगिक क्षेत्र निर्माण भए यस क्षेत्रको विकासमा सहयोग पुग्ने नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ अर्यालले बताउनुभयो ।

सरकारले औद्योगिक क्षेत्र निर्माण गरी उद्योग स्थापनाको वातावरण बनाए यहाँ उद्योगीहरू धेरै आउने उहाँको भनाइ छ । पूर्व–पश्चिम राजमार्गको मध्यभाग भएकाले उत्पादित सामग्री बजारीकरण र भारतीय सीमा नजिक रहेकाले आवश्यक कच्चा पदार्थ ल्याउन सहज हुने भएकाले लोकाहामा बन्ने औद्योगिक क्षेत्रमा उद्योगी आकर्षित हुने उहाँको तर्क छ । गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रूपमा यसलाई अगाडि बढाउँदै जाँदा जिल्लामा रोजगार, उद्यमशीलता थप बढ्ने र नवलपुरसहित गण्डकी प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष अर्यालको भनाइ छ ।

नवलपुरको लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि प्रारम्भिक चरणको काम सुरु भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । लोकाहामा प्रादेशिक औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा नापीको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । “औद्योगिक क्षेत्रका लागि जग्गा नापी तथा सरकारको नापमा मालपोत श्रेस्ता कायम गर्ने काम सकिएको छ र प्रदेश मन्त्रिपरिषद्मा पेस गर्न सबै प्रक्रिया पूरा भएको छ”, कार्यालय प्रमुख खनालले भन्नुभयो ।

प्रादेशिक औद्योगिक क्षेत्र निर्माणको योजनाअनुसार अब डिपिआर तयार गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका कामपछि उद्योग स्थापनाको काम अघि बढ्ने उहाँको भनाइ छ । “अब मन्त्रिपरिषद्को निर्णयसँगै डिपिआर बनाउनेदेखिका अन्य काम अघि बढ्छ, त्यसपछि उद्योग स्थापनाको चरण सुरु हुन्छ”, कार्यालय प्रमुख खनालले भन्नुभयो ।


प्रकाशित मिति: १५ पुष २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?