Trending
>>   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै >>   काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर भूकम्पको धक्का >>   आजको मौसम : चार प्रदेशमा हल्का वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ०७ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   ११ जिल्ला न्यायाधीशको सरुवा, को पुगे कहाँ ?(सूचीसहित) >>   अर्थमन्त्री विष्णु पाैडेलकाे कमालः आर्थिक वर्षको चार महिनामा १७ प्रतशितले राजस्व वृद्धि ! >>   राष्ट्रपति पौडेलबाट भारतीय सेनापति द्विेदीलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान( फाेटाे फिचर) >>   नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग >>   ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ >>   सडक र खोला मापदण्ड खारेजको माग गर्दै र्‍याली
Logo
७ मंसिर २०८१, शुक्रबार
७ मंसिर २०८१, शुक्रबार

जिपी कोइराला अस्पतालमा थाइराइड परीक्षण सुरु


तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएको छ । अस्पतालकोे सेवा विस्तारका क्रममा पहिलोपटक थाइराइड परीक्षण सुरु भएको हो । उपचार केन्द्रमा सिएलआइए मेसिन जडान भएपश्चात् प्रयोगशाला विभागमा थाइराइड परीक्षण सुरु भएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अस्पतालको सेवा विस्तार गर्ने क्रममा थाइराइड उपचार सुरु गरेका छौँ, यसले तनहुँका अतिरिक्त आसपासका सर्वसाधारणलाई पनि सहज हुनेछ”, उहाँले भन्नुभयो । यहाँ थाइराइड परीक्षण नहुँदा सर्वसाधारण पोखरासम्म जानुपर्ने बाध्यता थियो । उपचार केन्द्रमा थाइराइड परीक्षण सुरु भएपछि तनहुँसँगै छिमेकी स्याङ्जा र पाल्पाका केही भागका सर्वसाधारणलाई सहज हुने विश्वास गरिएको छ । थाइराइड हुँदा कपाल धेरै झर्ने, दुब्लाउने वा मोटाउने, शरीरमा पसिना बढी आउने वा कम आउने, निद्रा बढी लाग्ने वा कम लाग्ने, कब्जियत हुने वा झाडापखाला लाग्ने, महिलामा महिनावारी गडबडी हुने, मुटु जोडसँग ढुकढुक हुने, हात काँप्ने, गर्मी बढी हुने वा जाडो हुने, छाला खस्रो हुनेलगायतका लक्षण देखिने चिकित्सक बताउँछन् । केन्द्रमा केही दिन अगाडिमात्रै शवगृह पनि सञ्चालनमा आएको छ ।

शवगृहमा मोइस्चर चेम्बर मेसिन जडान गरिएको छ । उक्त शवगृहमा चार शव राख्ने क्षमता रहेको छ । शवगृह नहुँदा शव व्यवस्थापनका लागि सकस हुँदै आएको थियो । केन्द्रले नियमितरूपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नीलगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभूषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ । केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सहज भएको छ । अस्पतालमा तीन विशेषज्ञ र नौ मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनेशनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ ।

अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबीसै घण्टा आकस्मिक सेवा, ल्याब, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ । पचास शय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा स्थापना गर्न सरकारले केही वर्षअघि पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् । व्यास नपाद्वारा छ करोड राजस्व सङ्कलन तनहुँको व्यास नगरपालिकाले छ महिनाको अवधिमा करिब साढे छ करोड राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्म आन्तरिक आयतर्फ रु छ करोड चार लाख ९६ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले आन्तरिक स्रोतबाट रु २२ करोड ६० लाख राजस्व सङ्कलनको लक्ष्य राखेकामा छ महिनामा २८.४५ प्रतिशत राजस्व सङ्कलन भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । नगरपालिकाले सम्पत्ति कर, मालपोत कर, घरबहाल कर, प्राकृतिक स्रोतसाधनलगायतबाट आन्तरिक आय सङ्कलन गर्दै आएको छ ।

नगरपालिकाले यस अवधिमा सङ्घीय सरकारमार्फत रु ४४ करोड ६२ लाख ५३ हजार चार सय ४५ प्राप्त गरेको छ । सङ्घीय सरकारबाट रु एक अर्ब दुई करोड ४९ लाख ९९ हजार आम्दानी हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट रु एक करोड ५९ लाख ४५ हजार ८८ प्राप्त भएको छ । प्रदेश सरकारबाट रु आठ करोड ६९ लाख ५२ हजार आम्दानी हुने नगरपालिकाको अनुमान छ । त्यस्तै अन्य बाँकीबाट रु १७ करोड ६८ लाख ९८ हजार चार सय २८ आम्दानी भएको छ । यो शीर्षकबाट रु ३१ करोड ७५ लाख आम्दानी हुने नगरपालिकाको अनुमान रहेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताउनुभयो । छ महिनाको अवधिमा कुल २८.७६ प्रतिशत खर्च भएको छ । चालुतर्फ रु ८७ करोड ४४ लाख ६६ हजार विनियोजन भएकामा रु ३५ करोड ६७ लाख ८८ हजार छ सय ८७ खर्च भएको छ । पुँजीगततर्फ रु ७८ करोड नौ लाख ८५ हजार विनियोजन भएकामा रु ११ करोड ९३ लाख ४१ हजार ७८ खर्च भएको छ । चालुतर्फ ४०.८० र पुँजीगततर्फ रु १५.२८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवमा कुल एक हजार ५३ योजनामा उपभोक्ता समितिमार्फत गरिने एक हजार योजनामध्ये दुई सय ३६ योजनाको कार्यसम्पन्न भएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । चार सय ३३ योजना सम्झौता भई अधुरो रहेको, तीन सय ३२ सम्झौता हुन बाँकी रहेको र ठेक्कामार्फत सञ्चालन हुने ५३ मा कार्यसम्पन्न भएको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कार्यसम्पन्न र सम्झौता भएका ६८ प्रतिशत र सम्झौता हुन बाँकी ३२ प्रतिशत छ ।

नगरवासीका असीमित आकाङ्क्षा रहेको र बजेट निर्माण गर्ने समयमा सम्बोधन हुन नसकेका कार्यक्रमलाई वडाको सिफारिस लिई जुनसुकै समयमा पनि नगरपालिकामा माग गर्ने प्रवृत्ति हरेक महिना हुने कार्यपालिका बैठकमा मागका निवेदनको दबाबलाई व्यवस्थापन गर्न कठिनाइ महसुस भएको न्यौपानेले बताउनुभयो । “सबैको क्षमता, परस्पर सद्भावले मात्र अपेक्षित कार्यक्रम अघि बढाउन सकिन्छ र यसका लागि हामी जनप्रतिनिधि एवं कर्मचारी सद्भावपूर्ण सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । नगरपालिकाले चालु आवमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उद्योग, युवा, खेलकुद, सूचना र सञ्चारका क्षेत्र, व्यवस्थित बसोबास र भूमि व्यवस्थापन, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको नगरप्रमुख न्यौपानेले बताउनुभयो । नगरपालिकाअन्तर्गत बैरेनी जग्गा विकास आयोजनाका लागि नगर विकास कोषसँग करिब रु नौ करोड ऋण सम्झौता भएको, गत वर्ष नै बहुउद्देश्यीय भवन निर्माणका लागि करिब रु २८ करोडको ऋण सम्झौता भएको, व्यास १० स्थित नारेश्वर ताल प्रदेश सरकारसँगको सहकार्यमा निर्माण प्रक्रिया अगाडि बढेको नगरपालिकाले जनाएको छ । व्यास–११ स्थित चिस्यान केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा जान लागेको, फोहरमैला व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको, एकीकृत मादी उपत्यका विकास परियोजनाअन्तर्गत विभिन्न ठाउँमा प्रदेश सरकारको पहलमा करिब रु ३५ करोडको तटबन्धन कार्यक्रम चालु आवमा अगाडि बढेको बताइएको छ ।


प्रकाशित मिति: २९ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?