काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र निजी क्षेत्रका नेताबीच छलफल
काठमाडौं । रामेश्वर प्रसाद खनाल नेतृत्वको अर्थ मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वसँग समसामयिक आर्थिक विषयमा छलफल सम्पन्न भएको छ। अर्थ मन्त्रालयमा बिहीबार आयोजित छलफलमा निजी क्षेत्रको तर्फबाट निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष श्री कमलेश कुमार अग्रबाल, नेपाल उद्योग परिसंघका अध्यक्ष श्री विरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष श्री खेमराज भण्डारी समेत सहभागी रहेका थिए।
छलफलका क्रममा अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रबाट प्राप्त सहयोग र सुझावप्रति आभार व्यक्त गरे। उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनपछि बिग्रिएको व्यवसायिक वातावरण सुधार गर्नु सुरुवाती दिनको प्रमुख चुनौती रहेको उल्लेख गर्दै सबैको साझा प्रयासबाट अहिले वातावरणमा सुधार आएको बताए। उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न, घरेलु उद्योग संरक्षण गर्दै निर्यात प्रवर्द्धन गर्न तथा पुँजी बजारलाई पारदर्शी र लगानीमैत्री बनाउने दिशामा काम गरिएको बताए। साथै आफ्नो कार्यकालमा बाँकी रहेका नीतिगत तथा प्रशासनिक कार्यहरू आगामी अर्थमन्त्रीलाई हस्तान्तरण गरिने जानकारी पनि दिएका छन्।
त्यसैगरी छलफलमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्री खनालले निजी क्षेत्रका मुद्दाप्रति देखाएको चासो र माग सम्बोधनका प्रयासप्रति धन्यवाद व्यक्त गरे। उनीहरूले देशको समग्र विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनको परिणामप्रति आशावादी रहेको धारणा व्यक्त गरेका छन्।
छलफलका क्रममा निजी क्षेत्रले मूल्यअभिवृद्धि कर (भ्याट) प्रणालीमा बहुदर लागू गर्नुपर्ने, कच्चा पदार्थको आयातमा लाग्ने कर र तयारी वस्तुको आयातमा लाग्ने करबीच कम्तीमा दुई तहको अन्तर हुनुपर्ने, निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने तथा अन्तःशुल्कका उच्च दर घटाइनुपर्ने लगायतका विषय पनि उठाएका थिए।
निजी क्षेत्रले नियमनकारी निकायहरूको प्रभावकारिता परीक्षण गर्नुपर्ने विषयमा पनि सरकारको ध्यानाकर्षण गराएको छ।
प्रकाशित मिति: २८ फाल्गुन २०८२, बिहीबार