Trending
>>   तरकारी बोकेको ट्रकबाट २६ सय किलो गाँजा बरामद >>   विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ >>   पोखराको फिर्के खोला अतिक्रमणविरुद्ध महानगरको बुलडोजरः हालसम्म २६ अवैध संरचना भत्काइयो(तस्बिरसहित) >>   डिजिटल युगमा न्यायपालिकाको पहुँच र सुरक्षाका लागि ‘इन्टरनेट लचिलोपन’ अनिवार्यः प्रधानन्यायाधीश शर्मा >>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले
Logo
१९ आश्विन २०८३, सोमबार
१९ आश्विन २०८३, सोमबार

एक वर्षदेखि मर्मतको पर्खाइमा बौद्ध स्तुप क्षेत्रको सडक


१६ श्रावण, काठमाडाैँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गको कालोपत्र भत्किएको लामो समयसम्म पनि मर्मत हुन सकेको छैन । सडक मर्मत नहुँदा स्थानीय हिलो र धुलोको सास्ती भोग्न बाध्य छन् ।

काठमाडौँ महानगरपालिकाको ठेक्कामार्फत उक्त सडक कालेपत्र गरिए पनि तीन महिनामै भत्किएको थियो । कालोपत्र भत्किएपछि मर्मतको जिम्मा निर्माण कम्पनीको भए पनि हालसम्म काम हुन नसकेको बौद्धनाथ क्षेत्र विकास समितिका पूर्वकार्यकारी निर्देशक नयनकुमार लामाले बताए ।

बौद्ध क्षेत्रको टुसालबाट महाङ्काल र सम्पदा मार्गहुँदै बौद्ध चैत्य पुग्न सकिने सडक २०७८ जेठमा कालोपत्र भएको थियो । “गुणस्तरीय काम नहुँदा लामो समयदेखि स्थानीयले दुःख पाएको अवस्था छ”, उनले भने, “सडक मर्मतका लागि समितिले विगतमा तीन पटक बजेट बिनियोजन गरे पनि काठमाडौँ महानगरपालिकाले नै गर्ने भनेकाले सडकको जिम्मा महानगरलाई नै दिइएको हो ।”

कालोपत्र हुनुभन्दा एक वर्षअघि भने यो सडक समितिकै बजेटबाट मर्मत गरिएको थियो । विश्व सम्पदा क्षेत्रमा लामो समयदेखि सडक बिग्रिएको अवस्थाले पर्यटकहरुमा राम्रो सन्देश नजाने स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउछन् । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्नु परेको उनको भनाइ छ ।

स्थानीय श्रीकृष्ण शाही सडक निर्माणमा कमसल सामग्री प्रयोग गरेकाले लामो समयसम्म नटिकेको दाबी गर्छन् । न्यून गुणस्तरको काम हुँदा पनि सरोकारवाला निकायको ध्यान जान नसकेको उनको भनाइ छ ।

उक्त सडक काठमाडौँ महानगरपालिकाको रु नौ करोड लागतमा कालोपत्र गरिएको थियो । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले कमसल काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको दाबी गर्छन् । उनले महानगरपालिकामा यसबारे जानकारी गराउँदै भुक्तानी रोक्न समेत आग्रह गरेको बताए ।

पाँच तारे होटल हायात रिजेन्सीको पूर्वोत्तरको पर्खालसँगै जोडिएको उक्त सडकको दुरावस्थाले राम्रो सन्देश नदिने महानगरपालिका–६ का वडा अध्यक्ष भुवन लामा बताउछन् । उनले यसबारेमा महानगरपालिकाको कार्यपालिका बैठकमा विषय उठान गर्ने बताए ।

“बौद्ध क्षेत्रकै विकासका लागि भनी पर्यटकसँग शुल्क उठाइन्छ । त्यो शुल्क समितिको खातामा बैंकमा खर्च हुन नसकी थुप्रिएको छ । तर सडकको दूरावस्थाले विश्व सम्पदा क्षेत्रलाई नै गिज्याइरहेको छ”, उनले भने ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?