Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा


रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताउनुभयो । “रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ”, उहाँले भन्नुभयो, “गाउँमै पाएको सेवाले खुसी छौँ ।” डा सुनिलकुमार दासको नेतृत्वमा पहिलोपटक अस्पतालमा सो सेवाको थालनी भएको हो ।

जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा दास यहाँ आउनुभएको हो । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उहाँको भनाइ छ । “एपेन्डिसाइटिसका बिरामी उपचार गर्न टाढा जानुपर्ने समस्या निराकरण गर्न सेवा सरु गरेका हौँ, शल्यक्रिया सफल भएपछि उत्साह बढेको छ”, डा दासले भन्नुभयो । आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा विजय परियार बताउनुहुन्छ । पचास शय्याको अस्पताल निर्माण जारी छ । अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताउनुभयो । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उहाँ बताउनुहुन्छ । अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवासमेत थालेको छ ।

एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र २०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् । अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहँु, नवलपुर (नवलपरासी सुस्तापूर्व)का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् ।


प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?