Trending
>>   वास्तविक माओवादी हामी हौँः खड्गबहादुर विश्वकर्मा >>   हेटौँडा सडक विस्तारमा स्थानीय प्रशासनले जबरजस्ती गरेको भन्दै पीडितहरुले गराए सरकारको ध्यानाकर्षण >>   ओलीको प्रश्न: म बालुवाटारबाट नभागेको भए जेन जीले के गर्थे? >>   जेनजी–सरकारबीच भएको सम्झौताप्रति ओलीको टिप्पणीः ‘कलाबिहीन भद्दा नाटक’ >>   एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो >>   पूर्वराष्ट्रपति भण्डारीद्वारा जेन–जी आन्दोलनमा क्षति भएको संसद भवनको अवलोकन >>   कोप–३० नेपालको लागि उपलब्धिमूलक तर चुनौति धेरै: जलवायु वित्त विज्ञ क्षेत्री >>   स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइनः अर्थमन्त्री खनाल >>   एक वर्षमा १ करोड २५ लाखले लिए बीमामार्फत स्वास्थ्य सेवा >>   लैङ्गिक हिंसा आफ्नो व्यवहारबाटै हटाऔँः खेलकुदमन्त्री गुप्ता
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

लुम्बिनी केबुलकार सञ्चालनमा आउँदै


१४ जेष्ठ ,लुम्बिनी । बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भएको लुम्बिनी केबुलकार सोमबारदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार ‘स्टेशन’ रहेको केबुलकारको ‘टप स्टेसन’ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुरमा रहेको छ ।

लुम्बिनी केबुलकार प्रालिमार्फत निर्माण गरिएको तीन किलोमिटर दूरीको केबुलकारको बेस स्टेशन, टावर, टप बटम स्टेसनलगायतका सम्पूर्ण निर्माणका काम पूरा भएको र सोमबार भोलिदेखि व्यावसायिक रुपले सञ्चालनमा आउने कम्पनीका सञ्चालक चन्द्रप्रकाश ढकालले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले बुटवलबाट प्रदेशको राजधानी सरेको र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा केबुलकार सञ्चालनले बुटवल तथा भैरहवा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । “राजधानी र अन्तर्राष्ट्रिय विमानस्थलका कारण यस क्षेत्रमा होटल तथा पर्यटनका क्षेत्रमा ठूलो लगानी भएको छ”, उनले भने, “राजधानी बुटवलबाट सरेको र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा लगानी खेरजाने चिन्तामा रहेका व्यवसायीलाई केबुलकारको सञ्चालनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।”

उनले यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनका साथै बुद्ध जन्मस्थल लुम्बिनी आउने र भारतिय पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गरे । यसका साथै यस क्षेत्रको कृषि, हस्तकला लगायतको बजारीकरणमा मुख्य टेवा पुग्ने बताए । वसन्तपुरमा क्यासिनोसहितको एक सय ५० कोठाको पाँचतारे होटल, रेष्टुरेण्ट, मन्दिरलगायत संरचना निर्माण गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित यो परियोजनाका लागि रु पाँच अर्ब लगानी भएको उहाँले जानकारी दिए ।

परियोजनाका लागि मुख्य लगानीकर्ता आइएमई समूहले ५१ प्रतिशत र अन्यको ४९ प्रतिशत लगानी रहेको सञ्चालक ढकालले जानकारी दिए । केबुलकारमा २५ गोण्डुला रहने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् भने प्रतिघण्टा अधिकतम छ सय यात्रु आवातजावत गर्न सक्ने छन् । विसं २०७७ फागुन १ गते शिलान्यास गरिएको केबुलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रुले आवातजावत गर्न सक्ने कम्पनीले जनाएको छ ।

कोरोना महामारीलगायत कारणले तोकिएको समयमा निर्माण कार्य सम्पन्न नहुँदा सञ्चालनमा ढिलाइ भएको सञ्चालक तेजप्रसाद विकले पत्रकार सम्मेलनमा बताए । केबुलकारको हिल स्टेशन रहेको पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राण प्रतिष्ठाका लागि यही शुक्रबारदेखि सात दिने कालिका महापुराण चलिरहेको छ ।

भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी ल्याइएकी कामाख्या देवीको प्राण प्रतिष्ठाका लागि सुरु भएको महापुराण यही जेठ १८ गतेसम्म सञ्चालन हुनेछ । ‘कामाख्या भगवती मूर्ति प्राण प्रतिष्ठा अनुष्ठान समारोह’ नाम दिइएको यस पुराणमा जपात्मक, पाठात्मक र हवनात्मक विधिमार्फत वसन्तपुरमा निर्मित मन्दिरमा कामाख्या देवीको स्थापनार्थ कालिका पुराणको पाठपरायण र देवी महात्म्यासहितको भक्ति सङ्गीत चलिरहेको छ ।

कामाख्या भगवती मन्दिर परिसरमा कैलाश पर्वत, वर, पीपल, ढुङ्गे धारा, कुण्ड, पोखरीलगायतका संरचना निर्माण भएका छन् । करिब एक हजार मिटर उचाइमा रहेको वसन्तपुरमा यसअघि पातलो बस्ती रहेको अहिले मन्दिर निर्माण भई आकर्षक धार्मिक पर्यटकीय गन्तब्य बनेको छ ।


प्रकाशित मिति: १४ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?