Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

सीपले बदलिदिएको महिलाको दैनिकी


चार वर्ष पहिलेसम्म तमान गाउँका महिलाको दैनिकी घाँस दाउरा, चुलोचौको र मेलापात गरेर बत्थ्यो । सामान्य खर्चका लागि परनिर्भर हुनुपर्ने अवस्था थियो भने अहिले उनीहरु आफँै कमाउन सक्ने बनेका छन् । आफ्नै सीपले आत्मनिर्भर बनेपछि उनीहरुको अनुहारमा खुसी छाएको छ । यस गाउँका महिलाले अहिले ढाका उद्योग सञ्चालन गरेर उद्यमी बनेका छन् । चार वर्ष अगाडि तमानखोला गाउँपालिकाले दिएको तालिमले अहिले उनीहरुको दैनिकी नै बदलिएको छ । महिलाले तमान गाउँमा कल्याण आमा समूहको भवनमा उद्योग सञ्चालन गरेका छन् । उद्योग सञ्चालनमा आएपछि उनीहरुको बिहान बेलुका घरको काम र दिउँसोभर उद्योगमा बित्ने गरेको छ । पहिले घरको काम र बालबच्चाको स्याहारसुसारमा व्यस्त महिला अहिले भने कपडा बुन्नमा व्यस्त छन् ।

उद्योगले उनीहरुको दैनिकी फेरिदिनुका साथै आयआर्जनको माध्यम बनेको छ । उद्योगमा कति महिला त बच्चासमेत बोकेर उद्योगमा आउँछन् । गाउँपालिकाले गाउँमा २० महिलालाई तालिम दिए पनि अहिले उद्योगमा सात जना मात्रै काम गर्छन् । उनीहरु आलोपालो तान चलाउने र धागो मिलाउने काम गर्छन् । उद्योगमा सात जनाको समूह भए पनि उनीहरुले ११ वटा तान राखेका छन् । त्यसमध्ये केही बुन्ने काम गर्छन् त केहीले सामान व्यवस्थापन र धागो मिलाउने गर्छन् । समूहमा धेरैजसो युवती सक्रिय छन् भने केही बृद्ध महिला पनि आबद्ध भएर काम गरिरहेको कल्याण आमा समूहकी अध्यक्ष तनिमा घर्तीमगरले बताउनुहुन्छ । “गाउँमा पहिले रोजगार गर्ने अवसर पाइएको थिएन, सीप पनि सिक्न पाएका थिएनौँ, सीप भन्ने ठूलो सम्पत्ति रैछ, सीप भयो भने जहाँ गए पनि काम गर्न सकिन्छ, भोकले मर्न पर्दो रैनछ”, उहाँले भन्नुभयो, “गाउँका दिदीबहिनी धेरैले अहिले सीप सिकेका छौँ, सीप भएन भने भोकले मर्ने हो, हामीले सीप सिकेर धेरै फाइदा भएको छ, अहिले काम पनि राम्रो हुँदै गएको छ, यसको प्रतिफल पनि राम्रै पाउने छौँ भन्ने आशा छ, बाहिरबाट पनि मान्छेहरु यहाँ आउने गर्नुहुन्छ ।”

उद्योग सञ्चालनमा आएपछि धेरै ठाउँबाट माग आएपछि आफूहरुलाई निकै हौसलासमेत मिलेको उहाँ बताउनुहुन्छ । उहाँले १४ महिलाको लगानीमा उद्योग सञ्चालन गरेको बताउनुभयो ।अध्यक्ष घर्तीमगरले समूहका सबैले सुरुमा रु ६०/६० हजार लगानी गरेर उद्योग सञ्चालन गरेको बताउनुहुन्छ । आफूहरुले उत्पादन गरेका कपडा धेरैजसो गाउँमै बिक्री भएको र बजारसम्म पु¥याउनका लागि बढी उत्पादन गर्न थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हामीहरुलाई अझै केही मेसिन आवश्यक छन्, ती मेसिन आए भने अझै काम गर्न सहज हुने थियो, दिदीबहिनीको लगानीमा उद्योग सञ्चालन गरेका हौँ, अहिलेसम्म राम्रो भइराखेको छ, माग पनि ठिकठिकै छ र उत्पादन पनि ठिकै छ, अब विस्तारै ठूलाठूला बजारमा पठाउने गरी काम गरिराखेका छौँ, अहिले बजारका लागि केही समस्या छ, विस्तारै त्यसको पनि व्यवस्थापन हुन्छ कि, गाउँपालिकाले सहयोग गरे राम्रो हुन्थ्यो ।” उद्योगमा आबद्ध हुँदै आउनुभएकी जुनुमाया घर्तीमगरले आफूहरुले ढाकाबाट सल, टोपी, गलबन्दी, इस्टकोट, झोला, खादालगायतका कपडा बनाउँदै आएको उद्योगमा आबद्ध जुनुमाया घर्तीमगरले बताउनुभयो ।

उहाँले उद्योग सञ्चालनमा आएको केही समय राम्रो व्यापार भए पनि अहिले बजार व्यवस्थापनमा समस्या रहेको बताउनुहुन्छ । कपडा निर्माण गर्न चाहिने धागो तथा अन्य सामान बुर्तिबाङ, पोखरा तथा काठमाडौँबाट ल्याउने गरेको उहाँको भनाइ छ । सरकारले बजार व्यवस्थापनका लागि सहयोग गरे आफूहरुलाई थप सहज हुने जुनुमायाले बताउनुभयो । एउटा सल बुन्नको लागि दुईदेखि तीन दिनसम्म लाग्ने गर्छ । अरु कपडा बुन्नका लागि एक दिनदेखि हप्ता दिनसम्म लाग्ने उहाँको भनाइ छ । उत्पादन गरेको एउटा गलबन्दीको मूल्य एक हजारदेखि १५ समयसम्म र सलको १२ सयदेखि दुई हजार पाँच सयसम्म पर्ने गरेको उहाँ बताउनुहुन्छ । “अहिले हाम्रो मुख्य समस्या भनेकै बजार हो, बजार व्यवस्थापन भयो बने हामीहरुको आम्दानी पनि राम्रो हुन्थ्यो, अरु त अहिले खासै समस्या छैन, उत्पादन बढिराखेको छ, बजार राम्रो भयो भने उद्योग फस्ट्याउने थियो”, उहाँले भन्नुभयो, “ढाका बुनाइले हामीहरुलाई उद्यमी बनायो, खुसी छौँ, परिवार चलाउन सहज भएको छ, पहिलेको जस्तो अवस्था छैन ।” तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले ढाका सञ्चालकलाई आवश्यक सहयोग गर्दै आएको बताउनुभयो । उहाँले पालिकाकै पहलमा तालिम सञ्चालन गरेर उद्योग स्थापना गरेको बताउनुभयो ।

पछिल्लो समय लोप हुँदै गएको ढाका बुनाई गाउँमा स्थापित उद्योगले ब्युँताएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो ढाका उद्योगले परम्परागत ढाका बुनाइलाई ब्यँुताएको छ, मौलिक कलासँग जोडिएको ढाका बुनाइ बूढापाकाले मात्रै गर्ने गरेको सन्दर्भमा गाउँपालिकाले नयाँ पुस्तालाई तालिम दियौँ र अहिले उद्योगनै सञ्चालनमा आएको छ, यसले पुरानो संस्कृति जोगाएको छ, उद्यमीलाई पर्ने समस्याको समाधान हामीहरु गर्छौं ।” उहाँले उद्यमीलाई थप तालिम, आवश्यक मेसिन र बजारीकरणका लागि गाउँपालिकाले योजना बनाएको भन्दै उत्पादनलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले महिला परनिर्भरबाट आत्मनिर्भर बनेको भन्दै अब तमानखोलाका हरके महिलालाई सीप सिकाई उद्यमसँग जोड्ने बताउनुहुन्छ । ढाका बुनाइसँगै यहाँका बेरोजगार युवाका लागि अन्य सीप सिकाइ रोजगार बनाउने गाउँपालिकाको योजना रहेको सुनाउनुभयो ।


प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?