Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

डेरी उद्योगबाट मनग्ये आम्दानी


अझै पनि महिलाहरू घरायसी काममा मात्र सीमित हुनुपर्छ भन्ने गलत परम्परा हाम्रो समाजमा छ । यही गलत परम्पराका कारण पुरुषले बाहिरको काम गर्ने र महिला चुलोचौकामै सीमित हुनुपर्ने बाध्यता कायमै छ । यस्तै गलत परम्परा बोक्ने हजारौँको भीडबाट बाहिर निस्कनुभएको छ गुल्मीको रेसुङ्गा नगरपालिका–८ की शारदा भुसाल । उहाँ विसं २०६३ देखि न्यूमैत्री डेरी उद्योग सञ्चालन गरेर उदाहरणीय बन्नुभएको छ । उहाँ आफैँले सुरु गरेको डेरी उद्योगबाट अहिले दूध खरिद, प्रशोधन र बिक्री हुने गर्छ । उहाँले दैनिक तीन सय लिटर दूध बजारमा पुर्याउनुहुन्छ ।

गुल्मीको चौरासी र अर्घाखाँचीको ढिकुरा, काउलेलगायतका स्थानबाट डेरीमा दूध आउने गर्दछ । शारदाले भैँसीको दूधमात्र खरिद, प्रशोधन र बिक्री गर्नुहुन्छ । बजारमा आवश्यक पर्ने दूध पर्याप्त मात्रामा आफूसँग उपलब्ध नभएको उहाँले बताउनुभयो । गुणस्तरका आधारमा किसानसँग बढीमा प्रतिलिटर रु ९५ सम्म डेरी उद्योगले दिन्छ । यसलाई लिएर प्रशोधन गरेर प्रतिलिटर रु एक सय १० मा बिक्री हुन्छ । दूधबाट अन्य परिकार पनि बनाउन गरेको शारदाले बताउनुभयो । दूधबाट दही, पनिर, कुराउनी, छुर्पी र अन्य परिकार शारदा आफैँले बनाउने गर्नुहुन्छ । डेरीबाट मासिक रु नौदेखि १० लाखसम्म कारोबार गर्ने उहाँले मासिक रु एक लाख बचत गर्ने गरेको बताउनुहुन्छ । “जन्मपूर्वदेखि मृत्युपश्चात पनि दूध नै चाहिन्छ”, उहाँले भन्नुभयो, “महिलाले आफैँ व्यवसाय गर्नुपर्छ भनेर निरन्तर मेहेनत गरेँ ।” व्यापार र व्यवसायको सन्दर्भमा पनि पुरुषमात्र अगाडि सर्ने र महिला अरुकै भर पर्ने बाध्यताको अन्त्यका लागि अगाडि बढेको शारदाले बताउनुभयो । किसानसँग जोडिने व्यवसाय गर्नका लागि दुग्ध डेरी सञ्चालन गरेको तर पछिल्लो समय दूध उत्पादनमा कमी आएको शारदाको अनुभव छ । आफूसँगै सदरमुकाम तम्घासका दुग्ध व्यवसायी मिलेर सञ्चालन गरेको रेसुङ्गा दुग्ध डेरी प्रालिले १२ हजार लिटर दूध खपत गर्ने क्षमता छ । तर जिल्लाभर अहिले तीन हजार लिटर दूधमात्र उत्पादन हुने गरेको छ । स्थानीय पालिकाले किसानलाई दूध उत्पादनमा उत्साहित गराएमा जिल्लाका १२ पालिकाबाट एक हजार लिटर दूध आफुले खपत गर्न सक्ने भन्दै शारदाले किसान त्यसतर्फ उन्मुख हुनुपर्ने बताउनुहुन्छ । जिल्लामा दूध उत्पादन कम भएसँगै गुल्मीमा अर्घाखाँची, पाल्पा र कपिलवस्तुबाट आयात गर्नुपर्ने बाध्यता रहेको न्यूमैत्री डेरी उद्योगका सञ्चालक उहाँले गुनासो गर्नुभयो । शारदाले आफूले सञ्चालन गरेको डेरी उद्योगबाट अहिले प्रत्यक्षरूपमा चार जनाले रोजगार पाउनुभएको छ । दूध सङ्कलन, ढुवानी, प्रशोधन र बिक्री गरी चार जनालाई रोजगार प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । दुग्ध डेरीबाट आम्दानी भएको रकम अन्य व्यवसायमा लगानी गर्दै जानुभएको छ ।

डेरीबाट भैँसीको शुद्ध दूध बिक्री हुने भएकाले उपभोक्ता पनि निकै सन्तुष्ट हुने गरेको शारदाको अनुभव छ । “मैले आफँै व्यवसाय व्यवस्थित र गुणस्तर कायम गरेकी छु”, दूध बेच्दै गरेकी उहाँले भन्नुभयो, “महिला हुनेबित्तिकै परनिर्भर हुने मानसिकता हटाउनैपर्छ ।” डेरीबाट किसानलाई मासिकरूपमा दूधको रकम दिँदा किसान झनै सन्तुष्ट हुने गरेका छन् । कृषि र पशुपालनमा प्रेरित गर्नका लागि आफू डेरी उद्योगमा लागेको शारदाले बताउनुभयो । उहाँका श्रीमान् नवराज भुसाल पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । नवराज नेपाल पत्रकार महासङ्घ गुल्मीका पूर्वअध्यक्ष हुनुहुन्छ ।


प्रकाशित मिति: ८ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?