Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याइने


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले मुलुकका निम्न आय भएका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याइने बताउनुभएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलता साथ सम्पन्न गरेको अवसरमा आज यहाँ आयोजित ‘प्रत्यारोपितहरुको बृहत् भेला’ लाई सम्बोधन गर्दै उहाँले मुलुकका विपन्न नागरिकले अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अहिलेको अवस्थालाई मध्यनजर गरी सरकारले सेवा दिने बताउनुभयो । उहाँले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट वञ्चित हुनु नपर्ने अवस्थाका लागि सरकारले प्रयास गर्ने बताउनुभयो ।

मन्त्री गिरीले केन्द्रले उच्चस्तरीय सुलभ चिकित्सा सेवा प्रदान गर्नाका साथै विपन्न र असहायलाई मिर्गौला, कलेजो र मुटु रोगीलाई प्रत्यारोपणदेखि डाइलासिससम्मको सेवा उपलब्ध गराउँदै आएकामा प्रशंसा गर्नुभयो । मन्त्री गिरीले मानव अङ्ग प्रत्यारोपणका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले महत्वपूर्ण सेवा दिँदै आएको पनि उल्लेख गर्नुभयो । कार्यक्रममा सांसद राजेन्द्र पाण्डले प्रत्यारोपण केन्द्रलाई विस्तार गरेर सर्वसुलभ रुपमा अङ्ग प्रत्यारोपण गर्न वातावरण बनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य सचिव डा रोशन पोखरेलले सात प्रदेशबाट मिर्गौला प्रत्यारोपण गर्ने सरकारको तयारी रहेको बताउनुभयो । उहाँले १५–१५ दिनमा केन्द्रबाट नै प्रदेशमा जनशक्ति गएर मिर्गौला प्रत्यारोपण गरिने बताउनुभयो । उहाँले एकजना मस्तिष्क मृत्युवरणले आठजनालाई अङ्गदान गर्न सकिने भन्दै अङ्गदान गर्न जनचेतना जगाउनुपर्ने समेत बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले १० वर्षमा एक हजारमा गरिएको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरिएको बताउनुभयो । उहाँले वार्षिक तीन हजार जनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि केन्द्रको क्षमताले दुई सय जनालाई मात्र गर्न सकिने भन्दै क्षमता विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले सय शय्यामा सञ्चालनमा रहेको केन्द्रलाई पाँच सय शय्याको क्षमता विस्तार गरी सेवालाई थप बढाउन आवश्यक रहेको बताउनुभयो ।

केन्द्रको सहयोगमा अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ भने सुर्खेत, सेती प्रादेशिक अस्तपाल धनगढी, हेटाैँडा अस्पतालमा मिर्गाैला प्रत्यारोपण सुरु गर्ने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रले २०६९ माघ ६ गतेखि मिर्गौला प्रत्यारोपण र २०६९ कात्तिकबाट मिर्गाैलाको डाइलाइसिस सेवा सुरु गरेको हो ।


प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?