काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ५० हजार रुपैयाँ पारिश्रमीकको लागि कुनै युवाले विदेश जानु नपर्ने परिस्थिति निर्माण गर्नुपर्ने बताएका छन् ।
आईतवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशभित्रै रहेको जलस्रोतको उपयोग गरी उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गनुपर्ने बताएका छन् । उनले नेपाललाई संसारकै राम्रो देश बनाउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको पनि बताए । पार्टीको यो अभियान महिलाहरु सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव नहुँने उनले बताएका छन् । यसका लागी महिलाहरु आत्मनिर्भर र व्यवसायिक बन्नुपर्नेमा उनले जोड दिएका छन् । उनले राजनिति गर्ने हरेक मान्छेले सानो भएपनि पेशा व्यवसाय गर्नुपर्ने बताए ।
उनले भने, ‘यो देशभित्रै रहेको जलस्रोतको उपयोग गरेर, देशमा उद्योगधन्दाहरुको विकास गरेर देशभित्रै रोजगारी सिर्जना गर्ने, ४०/५० हजार तलबको लागी हाम्रा कुनै युवाले विदेश जान नपर्ने परिस्थिति निर्माण गर्ने र नेपाल राम्रो छ, यसलाई संसारकै राम्रो देश बनाउने जुन अभियानमा हामी लागेका छौँ । त्यो अभियान हाम्रो महिला संगठन सशक्त, बलियो र अग्रसर नबनेसम्म सम्भव छैन । राजनिति पेशा होईन, राजनितिले खाना लाउन दिँदैन । राजनिति गर्छु भन्ने हरेक मानिसले सानो भन्दा सानो भएपनि पेशा व्यवसाय गर्नुपर्छ । कतिपय साथीहरुले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मानिह हुँ भनेर मैले भन्छु नी होईन, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन, तपाईहरुले पनि बुझ्नु भएको छ । पहाडबाट कोदो खान नपुगेर मधेश झरेको, झापाको सुकुम्वासीको छोरा यसलाई अध्यक्ष मान्नुप¥यो भनेर पीर गर्ने मान्छे पनि छन् । तर आफ्नो अवस्थामा हिनताबोध गर्नुहुँदैन । म सुकुम्बासी परिवारबाट आएको हुँला तर मैले खाने गाँसमा, लगाउने कपडामा बेईमानीको अंश छैन ।’
उनले आफ्नो अवस्थामा हिनतावोध गर्न नहुनेमा पनि जोड दिंदै जिल्ला विकास समितिको सभापति भइसकेपछि पनि आफूले माईक्रोबस चलाएको स्मरण गर्दै काम गर्न लाज मान्न नहुने बताएका छन् ।
प्रकाशित मिति: १ भाद्र २०८२, आईतवार