काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा तेस्रो जितपछि चितवन राइनोजका ब्याटर डेविड मालनले टी ट्वान्टी क्रिकेट विश्वभर नै मनोरञ्जनको माध्यम बनेको र त्यसका लागि रन बन्नुपर्ने बताएका छन् ।
जनकपुर बोल्ट्ससँग झिनो लक्ष्य पूरा गर्न कठिन भएपछि पत्रकार सम्मेलनमा मालनले टी ट्वान्टी क्रिकेटमा रन नबन्दा मनोरञ्जन नहुने बताएका हुन् । बलरका लागि धेरै नै मद्दत हुने पिच हुनु नराम्रो रहेको उनी बताउँछन् । तर कहिलेकाहिँ त्यस्तो पिच नहुने पनि उनको भनाइ छ । मलानले पिच निकै असहज भएकाले टस जितेको भए पनि पहिले ब्याटिङ नगर्ने उल्लेख गरेका छन् । यद्यपि, जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ब्याटिङ गर्न सहज नभएपछि धैर्य गरेर खेल्नुको विकल्प नहुने उनले बताए । मलानले आफ्नो भूमिका राम्रो क्रिकेट खेल्नु रहेको र त्यसमा नै ध्यान दिने उल्लेख गरेका छन् । गत सिजन आफ्नो टोली प्लेअफ पुग्न नसके पनि यसपल्ट राम्रो टोली रहेको र राम्रो गर्ने विश्वास व्यक्त गरे ।
जनकपुरका बोल्ट्सका प्रशिक्षक शिवनारान चन्द्रपलले बलिङ राम्रो गरे पनि ब्याटिङमा खराब हुँदा हार बेहोरेको बताएका छन् । क्याच लिँदा म्याच जित्न सकिने उल्लेख गर्दै उनले मालनको क्याच छोड्नु ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ छ । घरेलु खेलाडीले राम्रो क्रिकेट पनि खेल्न नसक्दा यस सिजन पनि खराब नतिजा आएको प्रशिक्षक चन्द्रपलले बताए । साथै केही खेलाडीले गल्ती देखाउँदा पनि त्यसलाई सुधार नगरेको उनको आरोप छ ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार