काठमाडौँ। साहित्यकार तिलविक्रम नेम्वाङ (वैरागी काइँला) ले मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन परम्परागत शब्द निर्माणको पद्धतिलाई निरन्तरता दिँदै नयाँ शब्द र अभिव्यक्तिको सिर्जना गर्नुपर्ने बताएका छन् ।
शुक्रवार ललितपुरमा आयोजित ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ विमोचन कार्यक्रममा बोल्दै उनले मुन्धुमलाई केवल परम्परागत ज्ञानका रूपमा सीमित नराखी समय र पुस्ताअनुसार परिमार्जन तथा विकास गर्दै लैजानुपर्ने बताएका हुन् । उनले लिम्बू भाषामा नयाँ शब्द निर्माणको सम्भावना देखाउँदै एक विद्वानले हिन्दू देवी दुर्गाको सिंहवाहिनी स्वरूपलाई लिम्बू भाषाकै शब्द निर्माण पद्धतिबाट व्याख्या गरेको बताएका छन् । परम्परागत शब्दमा नयाँ प्रत्यय जोडेर देवीको स्वरूप र विशेषतालाई अर्थपूर्ण ढङ्गले अभिव्यक्त गरिएको उल्लेख गर्दै उनले यस्ता प्रयोगले मुन्धुमलाई नयाँ आयाम दिएको बताएका छन् । उनकाअनुसार भाषाको विकासका लागि शब्दकोश तयार गर्नु मात्रै पर्याप्त हुँदैन, नयाँ सन्दर्भ र आवश्यकताअनुसार शब्द निर्माण गर्ने क्षमता पनि विकास गर्नुपर्छ । विशेषगरी लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने तयारी भइरहेका बेला यसको आवश्यकता अझ बढेको उनको भनाइ छ । कोशी प्रदेशमा सरकारी कामकाजमा लिम्बू भाषाको प्रयोग हुने अवस्था बनेसँगै प्रशासनिक, प्राविधिक र शैक्षिक क्षेत्रका शब्दावली निर्माण गर्नुपर्ने उनले बताएका छन् । बहुमत, अल्पमत, प्रस्ताव पारित, पारित नहुनेलगायत संसदीय प्रक्रियामा प्रयोग हुने शब्ददेखि विद्यालयमा शिक्षकलाई सम्बोधन गर्ने शब्दसम्म लिम्बू भाषामा विकास गर्नुपर्ने उनको भनाइ छ । उनले प्राविधिक र पारिभाषिक शब्दावली निर्माणमा याक्थुङ चुम्लुङलगायत भाषिक तथा सांस्कृतिक संस्थाले नेतृत्व लिनुपर्नेमा जोड दिएका छन् । भाषाको विकासमा कमजोरी र अपूर्णता रहनु स्वाभाविक भएको उल्लेख गर्दै उनले मुन्धुममा वर्णित मानव सिर्जनाको प्रसङ्गसमेत सुनाएका छन् । तागेरा निङवाभुमाङले मानिसलाई अमर बनाउने प्रयास असफल भएपछि मरणशील मानिसको सिर्जना गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सिर्जनामा कमजोरी हुनु स्वाभाविक रहेको बताएका छन् ।
उनले भने, ‘लिम्बू भाषाको विकास र प्रयोगसँग सम्बन्धित छ । कोशी प्रदेशमा लिम्बू भाषा सरकारी कामकाजमा प्रयोग हुने सम्भावनासँगै स्थानीय तहमा पनि यसको प्रयोग बढाउन आवश्यक छ । त्यसका लागि प्राविधिक र पारिभाषिक शब्दावली निर्माण गर्नुपर्छ । बहुमत, अल्पमत, प्रश्ताव पारित हुने वा नहुनेजस्ता प्रशासनिक शब्ददेखि विद्यालयमा प्रयोग हुने ‘सर’ र ‘मिस’ जस्ता सम्बोधनसम्मका आफ्नै शब्द चाहिन्छन् । यस कार्यमा याक्थुङ चुम्लुङले अग्रसरता लिनुपर्छ वा यस क्षेत्रमा काम गर्न चाहने व्यक्तिहरूलाई सहयोगी वातावरण बनाउनुपर्छ । निर्माण र प्रयोगका क्रममा कमजोरी हुनु स्वाभाविक हो । मुन्धुमअनुसार तागेरा निङ्वाभुमाले पनि कहिल्यै नमर्ने मानिस बनाउन खोज्दा सफल हुनुभएन । अन्ततः मरणशील मानिसको सिर्जना भयो । यदि सृष्टिकर्ताबाट समेत कमजोरी हुन सक्छ भने हामी त साधारण मानिस हौँ । हाम्रो शरीर पनि नाशवान् छ । जलाउँदा खरानी हुन्छ, गाड्दा माटोमा मिल्छ र पानीले बगाउँदा विलीन हुन्छ। त्यसैले कमजोरीलाई स्वाभाविक रूपमा स्वीकार्दै भाषा, संस्कृति र सिर्जनाको विकासमा निरन्तर लाग्नुपर्छ ।’
उनले लिम्बू भाषा र मुन्धुमको समृद्धिका लागि नयाँ शब्दको सिर्जना, प्रयोग र पुस्तान्तरणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार