Trending
>>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या ! >>   मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैनः महामन्त्री पौडेल >>   फिल्डिङमा चुकिरहेका छौं– सन्दीप लामिछाने >>   जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ पूजामा सहभागी हुने रवि लामिछानेको तयारी >>   बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद >>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव


काठमाडौँ । देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलकाअनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएपनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आईतवारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ ।

आईतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताउनु भयो । त्यस्तै वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि रहने उहाँको भनाइ छ । विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ ।
मौसमविद् पोखरेलकाअनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ । यद्यपि अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने उहाँको भनाइ छ । उहाँकाअनुसार पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ । असिनासमेत सबै क्षेत्रमा पर्ने नभई निश्चित स्थानमा मात्रै सिमित हुने सम्भावना रहन्छ । यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुनसक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताउनु भयो । त्यसमा पश्चिमी वायुको समेत प्रभाव देखिएको उहाँको भनाइ छ ।

एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताउनु भयो । हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना रहने मनौसमविद् पोखरेलको भनाइ छ । यद्यपि समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्ने विषयमा विभागले छुट्टै मौसमी आँकलन सार्वजनिक गर्नेछ ।

उनले भनिन्, ‘आज र भोलि देशभरको मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । तर आइतबारदेखि पश्चिमी वायुको प्रभाव बढ्ने भएकाले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ । वागमती र कोशी प्रदेशका पहाडी भूभागमा पनि छिटपुट वर्षा हुनसक्छ । वर्षासँगै केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासमेत पर्न सक्ने भएकाले विशेषगरी धानबाली काट्न बाँकी रहेका किसानलाई शतर्कता अपनाउन आग्रह गरिएको छ । धान र पराल सुरक्षित राख्न आवश्यक सावधानी अपनाउनुपर्छ । हिउँदमा एल निनोको प्रभाव मनसुनको तुलनामा फरक हुने भएकाले यसले वर्षालाई अनिवार्य रूपमा घटाउँछ भन्ने हुँदैन । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा हिउँदे वर्षा र हिमपात हुन सक्छ, जुन हिउँदे बालीका लागि लाभदायक पनि हुन्छ । हाल ठूलो मौसमी प्रणाली विकास भएको अवस्था छैन । तर पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी क्षेत्रमा मध्यम वर्षा, असिना तथा उच्च हिमाली क्षेत्रमा मध्यम हिमपात हुनसक्ने सम्भावना छ । त्यसैले आत्तिनुपर्ने अवस्था नभए पनि मौसम पूर्वानुमान र अद्यावधिक परामर्शमा ध्यान दिन आवश्यक छ ।’

मौसमविद् पोखरेलले विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्शामा नियमित अद्यावधिक भइरहन पनि आग्रह गर्नुभयो । विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को जोखिम नरहे पनि कृषि क्षेत्रमा हुनसक्ने सम्भावित क्षतिलाई ध्यान दिनुपर्ने देखिएको छ । विशेषगरी धान काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउने र काटिसकेको धान तथा पराल सुरक्षित राख्ने तयारी गर्नुपर्ने मौसमविद्को सुझाव छ ।


प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?