काठमाडौँ। ब्याटिङका लागि संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले संघर्षपूर्ण जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ ।
कीर्तिपुरमा शुक्रवार भएको खेलमा चितवनले झिनो लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्समाथि चार विकेटको संघर्षपूर्ण जित रच्यो । आफ्नो छैटौं खेलमा चितवनले उत्कृष्ट बलिङ गरेको थियो । तर ब्याटिङमा भने निकै संघर्ष गर्नुप¥यो । प्लेअफका लागि दुवै टोली जित्नैपर्ने दबाबमा थिए । ६ खेलबाट चितवनले सात अंक जोड्यो । जनकपुर भने यो हारसँगै प्लेअफबाट बाहिरियो । पहिलो सिजनको च्याम्पियन जनकपुर ७ खेलबाट ४ अंक जोड्दै लगातार दोस्रो सिजनमा प्लेअफमा पुग्न असफल भयो । त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य दियो । तर झिनो लक्ष्य पछ्याए पनि चितवनले निकै संघर्ष ग¥यो । अन्तत चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । चितवनको पनि खराब सुरुआत रह्यो ।
डेविड मालन र कुशल मल्लको छैटौं विकेटको साझेदारीले चितवनले १६ बलअगावै जित रच्यो । मालनले धैर्यपूर्वक ब्याटिङ गर्दै जित सुरक्षित गराए । उनले ३५ रनको अविजित इनिङ खेले । मालनले ३९ बलमा एक मात्र बाउन्ड्री प्रहार गरे । भिजेको पिचका कारण ब्याटरका लागि निकै संघर्षपूर्ण रह्यो । ब्याटरले ठूलो सट खेल्न खोज्दा विकेट गुम्न थाल्यो । ३७÷५ को नाजुक अवस्थामा पुगेपछि चितवन समालियो । छैटौं विकेटका लागि मालन र कुशलबीच ३२ रनको साझेदारी भयो । यो साझेदारीले चितवन जितनजिक पुग्यो । १४औं ओभरमा कुशल १५ रनमा आउट भए । २५ बल खेलेका कुशलले एक मात्र चौका हिर्काए । तर यसपछि कुनै क्षति भएन ।
यसअघि चितवनका शीर्ष क्रमका ब्याटर कामिल मिसरा १२, अर्जुन साउन शून्यमा र रवि बोपारा १३ रनमा नै पभेलियन फर्किए । कप्तान सिकन्दर राजा शून्यमा र विवेक यादव ७ रनमा पभेलियन फर्किएपछि चितवन पनि नाजुक अवस्थामा पुग्यो । तर कुशल र मालनले धैर्यपूर्वक खेल्दै जित दिलाए । जनकपुरको बलिङमा राहुल यादवले तथा ललित राजवंशीले दुई र विशाल सुस्लिङले एक विकेट लिए । जनकपुरका बलरले पनि किफायती बलिङ गर्दै झिनो लक्ष्य रक्षा गर्ने प्रयास गरे । टस जितेर पहिले ब्याटिङ गर्ने जनकपुरको निर्णय सही साबित भएन । खराब सुरुआत गरेको जनकपुरले पूरै ओभरमा ९ विकेटको क्षतिमा ८८ रनको झिनो योगफल बनायो । सातौं नम्बरमा आएका कप्तान हरमीत सिंहले २५ रन बनाए ।
यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो । उनले २५ बलमा दुई चौका र एक छक्का हिर्काए । विशाल सुस्लिङ १५ रन, ओपनर सन्तोष कार्की र राहुलले समान १० रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दोस्रो ओभरमा जनकपुरले ओपनर तृतराज दास ५ रनमै आउट भए । अनुभवी विदेशी खेलाडी रयान बर्ल, ह्यारी टेक्टर र जिमी निसम जस्ता ब्याटर पनि सस्तैमा पभेलियन फर्किए । खराब लयबाट गुज्रिएका अनिल साहको स्थानमा जनकपुरले सन्तोष कार्कीलाई अवसर दिएको थियो । तर उनले पनि प्रभाव जमाउन सकेनन् । अमेरिकन ब्याटर हरमीतले इनिङ समाले । तर उनी डेथ ओभरको पहिलो बलमा कमलसिंह ऐरीबाट क्याच आउट भए ।
चितवनका बलरले किफायती बलिङसँगै लगातार विकेट लिँदै दबाब बनाए । चितवनका स्पिनरले नै सात विकेट दिलाए । स्पिनर रन्जित कुमारले तीन तथा कप्तान सिकन्दर राजा र कामिल मिसराले समान दुई विकेट लिए । मध्यम गतिका बलर कमल ऐरी र रिजन ढकालको नाममा समान एक विकेट रह्यो । सिकन्दर, रन्जित र कुशलले निकै किफायती बलिङ गरे । रञ्जितले तीन ओभरमा एक मेडनसहित २ रन, सिकन्दरले चार ओभरमा दुई मेडनसहित १० रन र कुशलले दुई ओभरमा ५ रन मात्र दिए । शनिवार एक मात्र खेल लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच खेल हुनेछ । दुवै टोलीले लिगको अन्तिम खेल खेल्दैछन् ।
प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार