Trending
>>   मुन्धुमलाई नयाँ पुस्तासम्म पुर्याउन शब्द निर्माणको परम्परा विकास गर्न वैरागी काइँलाको सुझाव >>   कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग >>   हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभिलेखीकरण र जनचेतना अभियान चलाउने >>   सर्वोच्च अदालतका चार न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ >>   लोकतन्त्र खोस्न खोजे अरु दुर्गानन्दहरु जन्मिन्छन्:प्रदीप पौडेल >>   चीन भ्रमणलाई पर्यटकीय भ्रमणमा सिमित नराख्न प्रधानमन्त्रीको निर्देशन >>   राष्ट्रिय परिचयपत्र प्रणाली १५ सरकारी निकायसँग जोडियो >>   सडक दुर्घटना बढेपछि प्रशासनको कडाइ : काठमाडौँ–हेटौँडा रुटमा समयसीमा तोकियो >>   आईतवारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव >>   मोबाइलसँगै बाथरुम पस्दै हुनुहुन्छ ? हुन सक्छ यस्तो समस्या !
Logo
२७ कार्तिक २०८३, शुक्रबार
२७ कार्तिक २०८३, शुक्रबार

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, ऋण मिनाहा गर्न विश्व समुदायसँग माग


काठमाडौँ। टर्कीमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।

टर्कीको अन्ताल्यास्थित सम्मेलन केन्द्र परिसरमा विश्वभरिबाट आएका नागरिक समाजका प्रतिनिधि तथा प्रदर्शनकारीहरूले जलवायु सङ्कटको मारमा परेका मुलुकको ऋण मिनाहा गर्न तथा जलवायु अनुकूलन र पुनरुत्थानका लागि अनुदान उपलब्ध गराउन माग गरेका हुन् ।

प्रदर्शनमा ऐक्यवद्धता जनाउँदै नेपालको नागरिक समाजकी प्रतिनिधि सुजिता माथेमाले कोप–३१ लाई अघिल्ला प्रतिबद्धता कार्यान्वयन गर्ने सम्मेलन (कोप अफ इम्प्लिमेन्टेसन) भनिए पनि सोअनुरूप प्रगति नदेखिएको बताइन् । जलवायुजन्य विपद्का लागि जिम्मेवार प्रदूषकहरूले प्रतिवद्धताअनुसारको रकम नदिएको उल्लेख गर्दै उनले ‘लस एण्ड ड्यामेज’ र ‘ग्रिन क्लाइमेट फन्ड’ लगायतका संयन्त्रबाट अनुदानको सट्टा ऋण बढी आइरहेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

‘ऋण आइसकेपछि त्यसको सावाँ–ब्याज तिर्दा पहिले नै प्रभावित देशहरूमाथि दोहोरो भार परेको छ ।’ माथेमाले भनिन्, ‘ऋण न्यायबिनाको जलवायु वित्त, जलवायु न्याय होइन । जलवायु वित्त ऋणका रूपमा होइन, अनुदानका रूपमा आउनुपर्छ र क्षतिका लागि जिम्मेवार प्रदूषकहरूले नै भुक्तानी गर्नुपर्छ ।’

प्रदर्शनकारीहरूले ‘ऋण मिनाहा गर’, ‘हाम्रो भविष्यका लागि लगानी गर’ र ‘जलवायु ऋण अन्त्य गर’ जस्ता नारा लगाउँदै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले जलवायु सङ्कट र ऋण सङ्कटबीच गहिरो सम्बन्ध रहेको भन्दै ऋणको बोझले विकासशील तथा जोखिममा रहेका मुलुकको जलवायु कार्ययोजना प्रभावित भइरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागीहरूले उच्च ब्याजदरमा लिइएका ऋण तिर्नुपर्ने बाध्यताका कारण धेरै मुलुकले जलवायु संरक्षणमा लगानी गर्न नसकेको बताएका छन् । ऋण चुक्ता गर्नकै लागि कतिपय मुलुक जीवाश्म इन्धनमा आधारित ऊर्जा र औद्योगिक कृषिको विस्तार गर्न बाध्य भइरहेको उनीहरूको भनाइ छ । जलवायु सङ्कटबाट प्रभावित मुलुकलाई पुनरुत्थान, विपद् व्यवस्थापन, उत्थानशीलता विकास तथा जलवायु कार्यका लागि पर्याप्त वित्तीय स्रोत आवश्यक रहेको प्रदर्शनकारीहरूले बताएका छन् । उनीहरूले ऋण मिनाहा गरेर सरकारले जलवायु कार्यमा खर्च गर्न सक्ने वित्तीय ठाउँ सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनका क्रममा सहभागीहरूले गीत, सामूहिक नाराबाजी र तालिबद्ध प्रस्तुतिमार्फत जलवायु न्यायको आवाज उठाएका छन् । ऋण सङ्कट र जलवायु सङ्कटलाई एकअर्कासँग जोडिएको समस्याका रूपमा चित्रण गर्दै उनीहरूले असमानता र जलवायु परिवर्तनविरुद्ध संयुक्त रूपमा अघि बढ्न विश्व समुदायलाई आह्वान गरेका थिए । प्रदर्शनकारीहरूले जलवायु परिवर्तनको जिम्मेवारी र त्यसको असरबीच रहेको असमानता अन्त्य गर्नुपर्नेमा जोड दिँदै प्रभावित मुलुकलाई ऋणको सट्टा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन माग गरेका छन् ।


प्रकाशित मिति: २७ कार्तिक २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?