Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भ्रष्टाचारलाई अन्त्य गर्न लागिपरेका छौँ : मन्त्री मोदी


३० वैशाख ,काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौँको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा लागिपरेको र कोही कसैलाई पनि छुट नदिइने बताए ।

उनले भने, “विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारी हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।” भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्ने गरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उनले भ्रष्टाचारको गन्धमात्रै आउने गरी काम देखिए कारबाही गर्ने बताए ।

मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्ने उल्लेख गरे । “प्रधानमन्त्रीको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य मिसन हो । यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ”, उनले भने ।

आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका काम अगाडि बढाएको बताउँदै उनले भने, “सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।” मन्त्री मोदीले अगाडि भने, “मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किने गरी नीतिगत निर्णय गरेका छौँ । अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ ।”

कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरूलाई स्थानीय तहमा खटाएको जानकारी दिँदै उनले सरकारले खटाएको स्थानमा नजानेलाई कारबाही हुने बताए । आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर सङ्घीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उनले भने, “कुनै पनि हालतमा सङ्घीय निजामती ऐन ल्याइछाड्ने अहिलेको सरकारको सङ्कल्प हो, हामीले दुई महिनामा सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ ।”

मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मकरूपमा प्रचार–प्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत औँल्याए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता कुमार पौडेल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतले जनतालाई सही सूचना प्रदान गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण हुने बताए ।


प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?