Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला


विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । यहाँ ग्रामीण भेगका महिला आफँै आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आउनुभएको हो । रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताउनुभयो ।

उहाँहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आउनुभएको छ । बुढा उमेरले ५६ वर्ष पुग्नुभयो । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमान्ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताउनुभयो । आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुुरा बुढाको भनाइ छ । “महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन”, उहाँले भन्नुभयो, “म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।” मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताउनुभयो । रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आउनुभएको छ । उहाँहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचिरहनुभएको छ । दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिनुभयो । आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मीला बुढाले बताउनुभयो । “हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ”, उहाँले भन्नुभयो, “ब्यापरसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौँ ।” जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मीलाले बताउनुभयो । भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो । आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताउनुभयो । उहाँले दुई सयभन्दा बढी सङ्ख्यामा भेडा पालन गर्नुभएको छ । बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकाल्नुहुन्छ । १० वटा भेडाबाट निकाएलिएको सबै ऊनले एउटा काम्लो बन्ने उहाँको भनाइ छ । कम्तीमा ५० देखि ६० को सङ्ख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उहाँहरुले बताउनुभयो ।

रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडीमा पुस मसान्तमा आउनुभएका उहाँहरु माघ ५ गतेसम्म बस्नुहुनेछ । उहाँहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापर मेला पनि भन्ने गरिन्छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थपेको बताउनुभयो । टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उहाँको भनाइ छ । रिडीमा रुरु फ्रेन्ड क्लबले माघी मेला आयोजना गर्दै आएको छ ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?