Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आत्मनिर्भर बन्दै ग्रामीण भेगका महिला


विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् । तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । यहाँ ग्रामीण भेगका महिला आफँै आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आउनुभएको हो । रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताउनुभयो ।

उहाँहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आउनुभएको छ । बुढा उमेरले ५६ वर्ष पुग्नुभयो । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमान्ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताउनुभयो । आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुुरा बुढाको भनाइ छ । “महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन”, उहाँले भन्नुभयो, “म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।” मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताउनुभयो । रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आउनुभएको छ । उहाँहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचिरहनुभएको छ । दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिनुभयो । आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मीला बुढाले बताउनुभयो । “हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ”, उहाँले भन्नुभयो, “ब्यापरसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौँ ।” जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मीलाले बताउनुभयो । भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो । आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताउनुभयो । उहाँले दुई सयभन्दा बढी सङ्ख्यामा भेडा पालन गर्नुभएको छ । बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकाल्नुहुन्छ । १० वटा भेडाबाट निकाएलिएको सबै ऊनले एउटा काम्लो बन्ने उहाँको भनाइ छ । कम्तीमा ५० देखि ६० को सङ्ख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उहाँहरुले बताउनुभयो ।

रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडीमा पुस मसान्तमा आउनुभएका उहाँहरु माघ ५ गतेसम्म बस्नुहुनेछ । उहाँहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापर मेला पनि भन्ने गरिन्छ । रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थपेको बताउनुभयो । टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उहाँको भनाइ छ । रिडीमा रुरु फ्रेन्ड क्लबले माघी मेला आयोजना गर्दै आएको छ ।


प्रकाशित मिति: ४ माघ २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?