Trending
>>   सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षउन्मुख >>   आज मिति २०८२ साल वैशाख १७ गते बुधबार ,हेर्नुहोस् आजको राशिफल >>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ >>   शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू >>   शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदारः उपमहासचिव पुन >>   वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल >>   प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले >>   दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा >>   एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी >>   विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा
Logo
१७ बैशाख २०८२, बुधबार
१७ बैशाख २०८२, बुधबार

ठेलामै समोसा बेचेर सिलवालले बनाए घर, जोडे जग्गा


८ वैशाख, कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उहाँको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उनको जीवनशैली र पूरा भएको सपना ।

अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधैँ चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्कए । त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गरेका उनले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लागे । ‘चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो’, शिवलाल भन्छन्, ‘के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।’

अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उनले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उनले जग्गा खरिद गरे । एउटा सुन्दर घर पनि बनाए । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै गए । तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् । त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाएह । ‘कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु’, उनी भन्छन्, ‘दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।’

शिवलालले समोसा बेच्न सुरु गरेको त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पथ्र्यो । अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा पाँच रुपैयाँका दुई समोसा बेच्ने उनी अहिले २० रुपैयाँको एउटा समोसा बेच्छन् । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आएका शिवलालको सफलतमा उनीकी श्रीमती राजकुमारी ठूलो देन छ । शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँडेकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उनी बताउँछन् । ‘मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्श्रीमती छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने’, शिवलालले भने, ‘साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।’

शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उनी बताउँछन् । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उनको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बसेका छन् भने कान्छो छोरा काठमाडौंमा व्यापार गर्छन् ।

उनी पैसाकै लागि विदेश जानु मूर्खता भन्छन् । कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उनको भनाइ छ । ‘विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ’, उनी भन्छन्, ‘नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन । किन विदेश जानुपर्यो ?’


प्रकाशित मिति: ८ बैशाख २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?