Trending
>>   सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा >>   पुराना कानून खारेज गरेर आर्थिक गतिविधि सहज बनाइनेः अर्थमन्त्री >>   भन्सारबाट सामान छुट्नेबित्तिकै भीसीटीएसमा विवरण आउने व्यवस्था गर्न प्रश्ताव >>   सुनकोशी–मरिण ठेक्का रद्दसम्बन्धी कागजात ७ दिनभित्र बुझाउन निर्देशन >>   प्रधानमन्त्रीको भारत भ्रमणमा प्रवासी नेपालीलाई भेट्ने अवसर नदिएको भन्दै असन्तुष्टि >>   दुईदिने भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह काठमाडौंमा >>   भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो >>   रेलदेखि जलविद्युतसम्म भारतसँग नेपालको सहकार्य विस्तार, ६६९ मेगावाटको तल्लो अरुण शिलान्यास >>   नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता दिने भारतको घोषणा >>   नयाँ सरकार आएपछि जनताले धेरै दुःख पाएः एमाले महासचिव पोखरेल
Logo
८ मंसिर २०८३, मंगलवार
८ मंसिर २०८३, मंगलवार

सुनकोशी–मरिण आयोजना रोकिँदा किसानले व्यहोरेको क्षतिको हिसाव कसले गर्ने ?- मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिँदा मधेसका पाँच जिल्लाका किसानले व्यहोर्नुपरेको सम्भावित आर्थिक तथा कृषि क्षतिको समेत विस्तृत हिसावकिताव गर्नुपर्ने बताएका छन् ।

संसदको सार्वजनिक लेखा समितिमा आयोजनाको ठेक्का रद्ध गरिएको विषयमा भएको छलफलका क्रममा झाले सरकारको राजश्वमा भएको नोक्शानीको मात्र हिसाव गरेर नपुग्ने बताएका छन् । आयोजना ढिलाइ हुँदा किसानले गुमाएको कृषि उत्पादन, आम्दानी र अवसरको समेत मूल्यांकन गर्नुपर्ने उनको भनाइ छ ।

उनले आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति खेती प्रभावित भयो, कति सिजन सिंचाई हुन सकेन र त्यसबाट किसानले कति अवसर गुमाए भन्ने विषयमा प्रश्न उठाएका छन् । झाले सुनकोशी–मरिण आयोजनाबाट १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र त्यसबाट कति उत्पादन प्राप्त हुन्थ्यो भन्ने विषयको समेत अध्ययन हुनुपर्ने बताएका हुन् । आयोजना रोकिँदा आगामी दिनमा पनि कति खेती सिंचाईबाट वञ्चित हुने र त्यसबाट कति क्षति पुग्नेछ भन्ने हिसाब निकाल्नुपर्ने उनको भनाइ छ । उनले २०८२ साल कात्तिक २५ गते बिड क्यान्सिल गरिएको विषय उठाउँदै पहिल्यै बिडिङ प्रक्रिया पूरा भई निर्माण कार्य अघि बढेको र टनेल ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया परिवर्तन गरेर किन लागू गरियो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका छन् ।

झाले आयोजना रोक्ने वा रद्ध गर्ने निर्णयमा राजनीतिक पूर्वाग्रह राखिएको हो वा होइन भन्ने विषयमा समेत निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । भविष्यमा कुनैपनि सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा राष्ट्रिय महत्त्वका आयोजना रोक्ने वा रद्ध गर्ने अवस्था आउन नदिन यस्ता निर्णयको गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ छ ।

उनले आयोजनाको लागत र क्षतिको मूल्याङ्कन गर्दा राज्यकोषमा भएको आर्थिक नोक्शानीलाई मात्र आधार बनाउन नहुनेमा जोड दिएका छन् । झाले किसानले सिंचाई सुविधा नपाउँदा गुमाएको उत्पादन, आम्दानी र खेतीका अवसरको समेत मूल्याङ्कन गर्नुपर्ने बताएका छन् ।

उनकाअनुसार आयोजनामा भएको ढिलाइ वा ठेक्का रद्ध हुँदा राज्यकोषमा परेको असरका साथै प्रत्यक्ष रूपमा प्रभावित किसानले व्यहोरेको क्षतिको पनि लेखाजोखा हुनुपर्छ ।

उनले भने,‘यो आयोजना रोकिँदा तराईका खेतमा पानी नपुगेका कारण कति अवसरको क्षति (अपर्चुनिटी लस) भएको छ ? कतिवटा सिजनमा हाम्रा खेतले पानी पाएनन ? कतिवटा खेती सिंचाईबिना गर्नुप¥यो ? त्यसबाट भएको क्षतिको हिसाव कसले गर्ने ? यदि १ लाख ८० हजार बिघा जमिनमा सिंचाई सुविधा पुगेको भए कति खेती हुन्थ्यो र कति उत्पादन हुन्थ्यो भन्ने विषयको पनि मूल्याङ्कन हुनुपर्छ । आयोजना रोकिँदा अब थप कतिवटा सिजनसम्म किसानले सिंचाई सुविधा पाउन सक्दैनन् भन्ने कुराको समेत हिसाव गर्नुपर्छ । २०८२ साल कात्तिक २५ गते बिड क्यान्सिल गरियो। तपाईंहरूले विधि र पद्धति परिवर्तन गर्नुभयो । पहिल्यै बिडिङ प्रक्रिया पूरा भई निर्माण कार्य शुरु भएर टनेल ब्रेकथ्रुसमेत भइसकेको आयोजनामा नयाँ विधि तथा प्रक्रिया लागू गर्नुभयो । त्यसो किन गर्नुभयो ? यी सबै विषयमा छानबिन हुनुपर्छ । भविष्यमा राजनीतिक पूर्वाग्रह राखेर कसैले पनि यस्ता आयोजना रोक्ने वा योजनाहरू रद्ध गर्ने अवस्था आउन नदिन यस विषयमा गम्भीर छानबिन हुनुपर्छ । किनभने, यसको लागत मधेसका पाँच जिल्लाका किसानले बेहोरिरहेका छन् । सरकारको राजश्वमा कति नोक्शानी भयो भन्ने कुरा मात्र हामीले हिसाव गरेर हुँदैन । यसको वास्तविक लागत त किसानले आफ्नो खेतीमार्फत व्यहोरिरहेका छन् । उनीहरूले व्यहोरेको क्षतिको हिसावकिताव कसले गरिदिने ? त्यसैले, तपाईंले भन्नुभएको सात दिनभित्र थप छानबिनका लागि आवश्यक दस्तावेजहरू उपलब्ध गराउने विषयमा मेरो सैद्धान्तिक सहमति छ । तर, यस आयोजनाका कारण किसानले व्यहोरिरहेको सम्पूर्ण क्षतिको मूल्याङ्कन कसले गर्ने ? त्यसको हिसावकिताव कसले निकाल्ने ? किसानले त अहिले नै त्यसको मूल्य चुकाइरहेका छन् । के राज्यकोषमा भएको आर्थिक क्षति र नोक्शानीको मात्र हिसावकिताव हुन्छ ? किसानले व्यहोरिरहेको क्षतिको मूल्याङ्कन कसले गर्ने ? त्यसैले, किसानले व्यहोरेको क्षतिसमेत समेटेर यो तहसम्मको विस्तृत अध्ययन सार्वजनिक लेखा समितिले गर्दैन भने अब कसले गर्छ ?’
सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले आयोजनासम्बन्धी थप अध्ययन तथा छानबिनका लागि सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । झाले किसानले बेहोरेको क्षतिसमेत समेटेर अध्ययन गर्ने जिम्मेवारी सार्वजनिक लेखा समितिले लिनुपर्ने बताउनु भयो ।


प्रकाशित मिति: ८ मंसिर २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?