काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड सम्मानित भएको छ। ५० करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा इम्पेरियलले सम्मान प्राप्त गरेको हो।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित आयोजित कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले कम्पनीका प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए।
सरकारले राष्ट्रिय कर दिवसका अवसरमा कर प्रणालीमा योगदान पुर्याउने उत्कृष्ट करदाता तथा व्यावसायिक संस्थालाई सम्मान गर्दै आएको छ। सोही क्रममा आयकरतर्फ उत्कृष्ट योगदान गरेको भन्दै इम्पेरियललाई सम्मान गरिएको हो।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेन्जको सदस्य रहेको इम्पेरियल सेक्युरिटिजले सन् २०१२ देखि धितोपत्र कारोबार सेवा प्रदान गर्दै आएको छ। कम्पनीले टीएमएसमार्फत शेयर खरिद-बिक्रीका साथै डिम्याट, मेरो शेयर नवीकरण, शेयर अभौतिकीकरण, राफसाफ तथा कस्टोडियल सेवा उपलब्ध गराउँदै आएको छ।
अनामनगरमा केन्द्रीय कार्यालय रहेको कम्पनीले सूर्यविनायक, धादिङ, पोखरा, नेपालगन्ज र वीरेन्द्रनगरमा शाखा विस्तार गरी सेवा सञ्चालन गरिरहेको छ। कम्पनीले लगानीकर्तालाई लक्षित गर्दै मार्जिन कर्जा सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार पछिल्लो ९० दिनको नेप्से फ्लोरसिटमा १३ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको शेयर खरिद कारोबार गर्दै शीर्ष ब्रोकरहरूमध्ये आफ्नो उपस्थिति बलियो बनाएको छ।
भक्तिराम घिमिरेको अध्यक्षता तथा प्रमुख सञ्चालन अधिकृत सीताराम अधिकारीको नेतृत्वमा सञ्चालित कम्पनीले प्रविधिमैत्री सेवा, पारदर्शिता र ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै पुँजीबजारमा आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ।
प्रकाशित मिति: १ मंसिर २०८३, मंगलवार