काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले प्रधानमन्त्री बालेन्द्र साहले सार्वभौम संसदलाई अपमानित र अपहेलित गरिरहेको आरोप लगाएकी छिन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शर्माले राष्ट्रियताको सवालमा प्रतिपक्षी दलले उठाएका प्रश्नलाई नजरअन्दाज गरेर प्रधानमन्त्री साहले संसदलाई अपहेलित गर्ने कार्य गरिरहेको गम्भीर आरोप लगाएकी हुन् । उनले प्रधानमन्त्री साहले सीमाको विषयमा राष्ट्रघाती अभिव्यक्ति दिएको दुई महिना बितिसक्दा समेत संसदमा जवाफ नदिएको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट नहटाएसम्म संसदमा पार्टीको विरोध जारी रहने चेतावनी दिएकी छिन् । फरक विषयमा बोल्दे सांसद शर्माले सुनसरीको देवानगञ्जमा भएको घटनापछि मधेशभर फैलिएको साम्प्रदायिक तनाव जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकारको पहलमा नियन्त्रणउन्मुख भएको बताइन् । उनले घटनामा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति दिन तथा घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
उनले भनिन् , ‘सम्माननीय प्रधानमन्त्रीज्युले यस सम्मानित सदनको रोष्ट्रममा उभिएर नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभएको दुई महिना दुई दिन भएछ । हामीले लगातार प्रधानमन्त्रीसँग जवाफ मागिरहेका छौँ । मानौँ कि यो हाम्रो नियमित काम हो । प्रतिपक्षले राष्ट्रियताको सवालमा प्रधानमन्त्रीसँग मागेको जवाफलाई नजरअन्दाज गरी सम्मानित सदनलाई अपमानित र अपहेलित गरिरहनुभएको छ । जबसम्म प्रधानमन्त्रीज्युले राष्ट्रियताको जस्तो संवेदनशील विषयमा दिनुभएको गैरजिम्मेवार अभिव्यक्तिको जवाफ संसदमा आउँदैन र। उक्त भनाई संसदको रेकर्डबाट हटाइँदैन तबसम्म हाम्रो दलकामे विरोध जारी रहने स्पष्ट गर्न चाहन्छु । सुनसरीको देवानगन्जमा घटेको घटनापश्चात मधेशभरी फैलिएको सम्प्रदायिक तनावलाई जिम्मेवार राजनीतिक दल, नागरिक समाज र सरकारको पहलमा नियन्त्रणउन्मुख भएको छ । उक्त घटना ज्यान गुमाउनेप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । उचित क्षतिपूर्तिको माग गर्दै घटनाको सत्यतथ्य छानविन गर्न विश्वसनीय आयोग गठन गर्न माग गर्दछु ।’
उनले मुलुकमा विभिन्न समयमा हुने धार्मिक तथा साम्प्रदायिक तनाव हुन नदिन सरकार सचेत हुनुपर्नेमा जोड दिएकी छिन् ।
प्रकाशित मिति: १९ श्रावण २०८३, मंगलवार