Trending
>>   सुदूरपश्चिम रोयल्सको दोस्रो जित >>   सात जना नेपाली खेलाडीमा जिताउने क्षमता छ: करण केसी >>   काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग पुग्यो >>   नियुक्ति सिफारिस पारदर्शी बनाउन सरकारलाई निर्देशन दिन्छौँः सभापति श्रेष्ठ >>   विचौलिया प्रकरणमा सरकार आफैँ मुछिएको छ, यसको स्वतन्त्र छानविन सरकारले गर्न सक्दैनः महामन्त्री पौडेल >>   प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति बनाउन काँग्रेसको माग >>   फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण बनाइरहेको छः गभर्नर पौडेल >>   राज्य सञ्चालन बालबालिकाको भाँडाकुटी बन्योः शंकर पोखरेल >>   भोटेकोशी बाढीबारे चीनले तत्काल सूचना दिएको थिएनः परराष्ट्र सचिव राई >>   न्यायाधीशमाथी महाभियोग लगाउने विषयमा काँग्रेसले तत्काल धारणा सार्वजनिक नगर्ने :भीष्मराज आङदेम्बे
Logo
१७ कार्तिक २०८३, मंगलवार
१७ कार्तिक २०८३, मंगलवार

उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’ पक्राउ, नाइकेलाई गोली हानेर नियन्त्रण


उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’ पक्राउ, नाइकेलाई गोली हानेर नियन्त्रण

काठमाडौँ। उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा चोरी तथा लुटपाट गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लुटपाट गर्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरी आईतवार सार्वजानिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेकाअनुसार पक्राउ पर्नेमा गिरोहका मुख्य नायिके सिन्धुपाल्चोकका ३४ वर्षीय कर्मा तामाङसहित काभ्रेका प्रतिमान गोले, पासाङ घिसिङ, मनोज तामाङ र कास्कीका आले गुरुङ छन् । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूलाई बनेपासहित विभिन्न स्थानबाट पक्राउ गरिएको हो । मुख्य अभियुक्त कर्मा तामाङ, प्रतिमान र पासाङ यसअघि पनि चोरी तथा डाँका सम्बन्धी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । कर्मालाई पक्राउ गर्न प्रहरीले गोली चलाउनु परेको थियो । बुढानीलकण्ठको भैरव रोड क्षेत्रमा पुगेको प्रहरी टोलीमाथि कर्माले खुकुरी प्रहार गर्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर र एक राउण्ड गोली चलाएर नियन्त्रणमा लिएको प्रहरी प्रमुख घिमिरेले बताएका छन् । प्रहरीको गोली लागेर घाइते भएका कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कर्मा समूहले उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनको सिक्री लुट्ने गरेको एसएसपी घिमिरेले जानकारी दिएका छन् । उनकाअनुसार उक्त गिरोहले विशेषगरी बिहान वा साँझ एक्लै हिँडिरहेका महिला तथा वृद्धवृद्धालाई निशाना बनाउने गरेको थियो । उनीहरूले शुरुमा बाटो सोध्ने बहानामा संवाद गर्ने र त्यसलगत्तै मोटरसाइकलबाट आएर लछारपछार गर्दै घाँटीमा लगाएका सुनका सिक्री तथा नगद लुट्ने शैली अपनाएको अनुसन्धानबाट खुलेको छ । घटनापछि प्रयोग गरिएको पल्सर मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गर्ने, केही दिन काठमाडौंमा लगातार अपराध गरेर १०/१५ दिन अन्यत्र लुक्ने रणनीति अपनाउने गरेको अनुसन्धानको क्रममा पाईएको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । घिमिरेकाअनुसार हालसम्म काठमाडौं र काभ्रेमा भएका कम्तीमा चार वटा सिक्री लुटपाटका घटनामा कर्मा गिरोहको संलग्नता रहेको पाईएको छ । उनीहरुले काठमाडौको शान्तिनगर, नरेफाँट, धुलिखेल–बनेपा र धापासीमा भएका लुटपाट गरेका थिए । पछिल्लोपटक यो समुहले साउन ७ गते धापासीमा ६६ वर्षीया वृद्धाको सिक्री लुटेको प्रहरी प्रमुख घिमिरेले जानकारी दिएका छन् । प्रमुख घिमिरेका अनुसार पक्राउ परेका प्रतिमान गोले लुटपाट गर्दा मोटरसाइकल चालकको भुमिकामा थिए भने पासाङ घिसिङले चोरीपछि मोटरसाइकलको व्यवस्थापन गर्ने गरेका थिए । आले गुरुङले लुटपाटका क्रममा प्रतिरोध भएमा ‘ब्याकअप’को भूमिका निर्वाह गर्ने र मनोज तामाङले लुटिएका सुन पगालेर स्वरूप परिवर्तन गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ ।

उनले भने, ‘हामीले अनुसन्धान गर्दै जाँदाखेरिको यो समूहले वृद्ध महिलाहरुलाई टार्गेट गर्ने गरेको पायौँ, जो विभिन्न ठाउँमा बिहानको समयमा मर्निङवाकमा जाँदाखेरिको होस् अथवा साँझको समयमा मर्निङवाकमा निस्केको समयमा उहाँहरुलाई टार्गेट गर्ने र उहाँहरुलाई कुनै ठाउँको बाटो कता होला भनेर सोध्ने त्यसपछि उहाँहरुले यो ठाउँ जाने बाटो यो भनिसकेपछि त्यसको एक मिनेटपछि आएर फेरि उहाँहरुलाई लछारपछार गरेर उहाँहरुले लाएका सुनका सिक्रीहरु अथवा उहाँहरुसँग भएका नगद लुटपाट गर्ने गरेको पाईयो । त्यसैगरी उहाँहरुले पल्सर मोटरसाइकल प्रयोग गर्ने र त्यो घटना घटाइसकेपछि तत्काल त्यो मोटरसाइकलको अथवा सवारी साधनको नम्बर प्लेट परिवर्तन गर्ने गरेको देखियो । उनीहरु काठमाडौंमा आउने, दुई तीन दिन लगातार घटनाहरु घटाउने र त्यसपछि फेरि १०–१५ दिन भागेर अन्यत्र कुनै स्थानमा गएर सुरक्षित स्थानमा गएर लुक्ने अनि त्यसपछि फेरि केही समयपछि आएर घटना घटाउँदै जाने किसिमका कार्यविधि निरन्तर गरेको हामीले देख्यौँ । तर अहिलेसम्म प्रहरीले अनुसन्धान गर्दै जाँदाखेरिको अवस्थामा चारवटा घटनाहरु घटाएको देखिन्छ ।’

प्रहरीले उक्त समुहले प्रयोग गर्ने मोटरसाइकल, विभिन्न नम्बर प्लेट, हेल्मेट, ज्याकेट, जुत्ता, सुन पगाल्न प्रयोग हुने सामग्री, मोटरसाइकलको ह्यान्डल लक तोड्ने औजार, खुकुरी तथा मोबाइल फोन बरामद गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?