Trending
>>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’ >>   १३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ र चीनमा कल्याणराज >>   सहकारीको ब्याजदर १३ प्रतिशतमा सीमित,सेवा शुल्क भन्दै थप पैसा पनि माग्न नमिल्ने ! >>   रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन >>   संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण


काँग्रेस कमजोर हुँदा देशले राजनीतिक र आर्थिक दुर्घटना व्यहोर्नुपर्छः रञ्जित कर्ण

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले काँग्रेस कमजोर वा विभाजित हुँदा देशले राजनीतिक र आर्थिक रूपमा ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् ।

आईतवार काठमाडौंमा ‘देश र काँग्रेस जोड्ने अभियान’ द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले इतिहास साक्षी रहेको उल्लेख गर्दै काँग्रेसको आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका छन् । नेता कर्णले सुनसरीको देवानगञ्जमा हालै भएको घटनालाई लिएर सरकार र प्रशासनको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । उक्त समस्या विगत एक महिनादेखि देखिएको भएपनि जिल्ला प्रशासन, प्रहरी र गृह मन्त्रालयले समयमै गम्भीरता नदेखाउँदा दुर्घटना भएको उनको भनाइ छ । झन्डै दुई तिहाइको समर्थन प्राप्त वर्तमान सरकारबाट जनताले ठूलो अपेक्षा राखेको भएपनि सरकारले गोली चलाउनु विडम्बनापूर्ण रहेको उहाँले उल्लेख गरेका छन् । मुलुकमा धार्मिक सहिष्णुता कायम रहनुपर्नेमा जोड दिँदै उहाँले वर्तमान समस्याको तत्काल समाधान खोजिनुपर्ने बताएका छन् । अहिलेको परिस्थितिमा कुनैपनि विषयलाई राजनीतिकरण नगरी सबै नागरिक एकजुट भएर देश जोगाउन लाग्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘यो सबैलाई थाहा छ, इतिहास साक्षी छ । जब–जब काँग्रेस कुनै कारणले, चाहे आन्तरिक गुटबन्दीका कारण होस् वा वैचारिक मतभेदका कारण, कमजोर भयो वा विभाजित भयो, तब–तब देशले राजनीतिक र आर्थिक रूपमा ठूलो दुर्घटना व्यहोरेको छ । झन्डै दुईतिहाइ मत प्राप्त गरेको वर्तमान सरकारसँग हाम्रो पनि ठूलो अपेक्षा थियो । जनआन्दोलनका बेला हाम्रा भाइबहिनीहरूले ज्यान गुमाएका थिए । त्यही बलिदान र प्रेरणाबाट बनेको सरकारले जनतामाथि गोली चलाउँदैन भन्ने हाम्रो विश्वास थियो । तर आज विडम्बना, यही सरकारले गोली चलाएको अवस्था छ । सुनसरीको देवानगञ्जको घटना रातारात वा दुई–तीन दिनमै भएको होइन । त्यहाँ महिनौँदेखि समस्या थियो । जिल्ला प्रशासन, प्रहरी प्रशासन र गृह मन्त्रालयलाई त्यसबारे जानकारी थियो । उनीहरूले समयमै गम्भीरता देखाएको भए आज यस्तो दुर्घटना हुने थिएन । प्रधानमन्त्री संसद्मा आएर वा जनतासँग समयमै संवाद गरेको भए प्रशासनले पनि जनतासँग संवाद गथ्र्यो र समस्या समयमै समाधान हुन सक्थ्यो । तर त्यसो हुन सकेन । अहिले बल्ल प्रधानमन्त्री संवादमा आउनुभएको भन्ने सुन्नमा आएको छ । हामी अपेक्षा गर्छौं, धार्मिक सहिष्णुता कायम रहोस् र अहिलेको समस्या छिट्टै समाधान होस् । हामी नेपाली काँग्रेसका जिम्मेवार साथीहरू हौँ । अहिले हामी यो विषयलाई राजनीतिकरण गर्न चाहँदैनौँ। सम्पूर्ण नेपाली एक ठाउँमा उभिनुपर्छ । देश जोगाउनुपर्छ, देशलाई अगाडि बढाउनुपर्छ । त्यसका लागि युवाहरूको काँधमा ठूलो जिम्मेवारी छ । यस्तो अवस्थामा नेपाली काँग्रेस अझ बलियो बन्नुपर्छ । विगतमा केही कमजोरी र गल्ती भएका होलान्, तर अब नेपाली काँग्रेस सुध्रिनुपर्छ, बदलिनुपर्छ र हामी सबै मिलेर अगाडि बढ्नुपर्छ ।’

नेता कर्णले विगतका गल्तीहरूबाट पाठ सिक्दै नेपाली काँग्रेस अब सुध्रिनु र बदलिनु पर्ने बताउनु भयो । युवाहरूको काँधमा ठूलो जिम्मेवारी रहेको उल्लेख गर्दै उनले पार्टीभित्रको एकता र सुदृढीकरणले मात्र देशलाई अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १७ श्रावण २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?