वीरगञ्ज । पर्सा प्रशासनले वीरगञ्जमा लागू गरिएको निषेधाज्ञा हटाएको छ।
पछिल्ला केही दिनयता सुरक्षा अवस्था सुधार हुँदै गएपछि आइतबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। साउन १४ गतेदेखि प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म लागू हुँदै आएको निषेधाज्ञा अब प्रभावहीन भएको छ। प्रशासनका अनुसार जुलुस, प्रदर्शन र हुलदङ्गा नियन्त्रणमा आएपछि जनजीवनलाई सहज बनाउन यो निर्णय गरिएको हो। सिरहाको गोलबजार घटनालाई लिएर आन्दोलनरत पक्ष र सरकारबीच आठबुँदे सहमति भएपछि विरोधका कार्यक्रम स्थगित भएका छन्। मृतकको अन्त्येष्टि प्रक्रिया अघि बढेसँगै आन्दोलनको तापक्रम पनि घटेको छ।
जुलुस, प्रदर्शन र हुलदङ्गा नियन्त्रणमा आएपछि वीरगञ्ज र आसपासका क्षेत्रमा बजार, उद्योग–व्यवसाय तथा यातायात सेवा पुनः नियमित रूपमा सञ्चालन हुन थालेका छन् भने जनजीवन पनि सामान्य अवस्थामा फर्किन थालेको छ।
प्रकाशित मिति: १६ श्रावण २०८३, शनिबार