काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी सरकार मात्र नभई राजनीतिक संस्कार परिवर्तनको अभियानमा रहेको बताएका छन् ।
चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना भएको बताउदै उनले विगतमा राजनीतिक दलहरुले अवसरभन्दा पहुँचवालालाई प्राथमिकता दिने संस्कार विकास गरेको आरोप लगाएका छन् । उनले राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन र पहुँच भएकालाई सफल हुन सहज हुने अवस्था सिर्जना गर्ने तथा व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक हुने व्यवस्था कायम गरेको समेत आरोप लगाए । राज्य संयन्त्र सिर्जनात्मक र प्रतिस्पर्धामूलक बन्न नसकेको भन्दै अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने प्रवृत्तिले मुलुकको विकासमा अवरोध सिर्जना गरेको बताउदै उनले उक्त अवरोध हटाउने अभियानमा रास्वपा रहेको बताएका छन् ।
उनले भने , ‘नेपालको समस्या स्रोतको अभाव मात्र होइन । नेपालको समस्या सम्भावनाको अभाव पनि होइन । हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो । राजनीतिमा इमानदार मानिस प्रवेश गर्न कठिन, तर पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बन्यो । व्यवसायमा नवप्रवर्तन गर्न कठिन, तर शक्ति केन्द्रसँग निकट हुन सजिलो हुने व्यवस्था बन्यो । राज्यले सिर्जना गर्नेभन्दा बाँड्ने, प्रतिस्पर्धा बढाउनेभन्दा नियन्त्रण गर्ने, अवसर विस्तार गर्नेभन्दा पहुँचको संरक्षण गर्ने संस्कार विकसित भयो । त्यसैले हाम्रो राजनीतिक उद्देश्य केवल सरकार फेर्ने अभियान मात्र होइन । यो राजनीतिक संस्कार परिवर्तनको अभियान हो । हामी विवेक र विधि अनि नियममा आधारित शासनतर्फ जान चाहन्छौँ । भागबण्डाबाट मेरिटोक्रेसीतर्फ जान चाहन्छौँ। नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छौँ ।’
विवेक, विधि र नियममा आधारित शासन प्रणाली निर्माण, भागबण्डाको अन्त्य तथा मेरिटोक्रेसीको स्थापना र नागरिक केन्द्रित लोकतन्त्रको विकासमा पार्टी प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रकाशित मिति: ७ असार २०८३, आईतवार