काठमाडौं । काठमाडौं महानगरपालिका–७ पनेकु पार्कमा अवस्थित श्री पशुपतिनाथ उपमन्येश्वर महादेवको मूर्तिमा क्षति पुर्याइएको घटनाले स्थानीय बासिन्दा तथा भक्तजनहरूलाई स्तब्ध बनाएको छ। पुरुषोत्तम महिनाजस्तो विशेष धार्मिक अवसरमा भएको यस घटनालाई धेरैले आस्थामाथिको प्रहारका रूपमा लिएका छन्।

स्थानीयका अनुसार भगवानप्रतिको श्रद्धा र विश्वासमाथि प्रश्न उठाउँदै मूर्तिमा क्षति पुर्याइएको हो। घटनापछि धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणबारे पुनः चासो बढेको छ।
उल्लेखनीय रूपमा, उक्त उपमन्येश्वर महादेवको मूर्ति २०८० पुस ३ गते विधिपूर्वक स्थापना तथा प्राणप्रतिष्ठा गरिएको थियो। पशुपति भण्डारखाल क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गर्ने उद्देश्यले स्थापना गरिएको मूर्ति वाराणसीबाट तयार गरी ल्याइएको थियो। साथै, मन्दिर परिसरमा उपमन्यु गोत्रीय पाण्डे वंशको कुलदेवतासमेत स्थापना गरिएको थियो।

स्थानीयवासीहरूले धार्मिक आस्था र सांस्कृतिक धरोहरको सम्मान गर्न आग्रह गरेका छन् । मन्दिर र मूर्तिहरू केवल धार्मिक प्रतीक मात्र नभई समाजको इतिहास, संस्कृति र पहिचानका महत्वपूर्ण सम्पदा हुन्।
स्थानीयहरूका अनुसार केही व्यक्तिहरूले “यो पत्थरमा पनि तेरो भगवान हुन्छ ?” भन्दै महादेवप्रतिको आस्था र श्रद्धामाथि प्रहार गर्ने शैलीमा मूर्तिलाई क्षति पुर्याएका हुन्। घटनापछि सामाजिक सञ्जालमा समेत विरोध भइरहेको छ।




प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आईतवार