काठमाडौँ। बिहीवारदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले बिहीवारदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । उनकाअनुसार परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ । यसवर्ष ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिएका छन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौंमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । उप–नियन्त्रक ज्ञावलीकाअनुसार काठमाडौंका १ सय ३५ वटा परीक्षाकेन्द्रबाट ४१ हजार १ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । सबैभन्दा कम मनाङमा भने एउटा परीक्षाकेन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेको केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने उहाँले जानकारी दिएका छन् ।
उनले भने, ‘चैत १९ गते विहान ८ बजेदेखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को परीक्षामा देशभरका १ हजार ९ सय ६५ केन्द्र र देशबाहिर जापानमा एउटा परीक्षा केन्द्र गरी १ हजार ९ सय ६६ वटा परिक्षा केन्द्रवाट ११ हजार ३ सय ७९ विद्यालयका पाँच लाख १२ हजार ४ सय ७१ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । सबैभन्दा बढी काठमाडौं जिल्लामा १३५ वटा परीक्षा केन्द्र छन्, त्यहाँ ४१ हजार १ सय ५५ जना विद्याथी परीक्षामा सहभागी हुँदैछन् भने सबैभन्दा कम मनाङमा परीक्षाकेन्द्र एउटा मात्रै छ, त्यहाँ ३७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नेपालभन्दा बाहिर जापानमा एउटा परिक्षा केन्द्र छ । त्यहाँबाट २३ जना विद्यार्थी सहभागी हुनेछन् ।’
यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको उप–नियन्त्रक ज्ञावलीले जानकारी दिनुभयो । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तिर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उनको भनाई छ ।
उनले भने, ‘हामीले एक पटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तिमा ३ पटक मौका दिने गरेका छौँ । पहिलो पटक पास नभएका विद्यार्थीलाई पुरक मौका दिइन्छ । पुरकमा पनि पास नभएका विद्यार्थीले ३ पटक परीक्षा दिन पाउँछ । अहिले चाँही २०७९ सालमा नियामित समूहशाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई हामीले परीक्षा फारम भर्ने अवसर दिएका थियौँ । त्यस्ता परीक्षार्थीहरु पनि हुनुहुन्छ । यसवर्ष ग्रेडवृद्धिका ६५ हजार ८ सय ९५ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।’
उप–नियन्त्रक ज्ञावलीकाअनुसार बालसुधार गृहमा रहेका विद्यार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ । बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिएका छन् । उनकाअनुसार परीक्षा सकिएपछि संकलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ ।
उनले भने, ‘बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकैको परीक्षाकेन्द्रवाट व्यवस्थापन गर्नको लागि हामीले गृहकार्य गरेका छौँ । जहाँ बालसुधार केन्द्र छ, त्यहाँबाट सबैभन्दा नजिक रहेको परीक्षाकेन्द्रको केन्द्राध्यक्षज्युले उत्तरपुस्तिका र प्रश्नपत्रसहित एकजना जनशक्ति वा निरीक्षकलाई बालसुधार केन्द्रमा पठाउनुहुन्छ । निर्धारित समयमा बालसुधार केन्द्रभित्र परीक्षा दिने विद्यार्थीको परीक्षा लिएर उत्तरपुस्तिका संकलन गर्नुुहुन्छ । त्यही परीक्षाकेन्द्रको विद्यार्थी भएमा अरु विद्यार्थीको उत्तरपुस्तिका र हाजिर त्यही संलग्न गराउनुहुन्छ । फरक परीक्षाकेन्द्रको भएमा छुट्टै प्याकेजिङ गरेर पछि परीक्षा नियन्त्रण कार्यलय कक्षा १० मा पठाउनुहुन्छ । त्यसरी व्यवस्थापन गर्न हामीले अनुरोध गरेका छोँ ।’
विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरुको आवश्यकताअनुसारको व्यवस्थापन गरिएको उनले जानकारी दिएका छन् । अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उनले बताए । उनकाअनुसार ३ घण्टाको परीक्षामा उनीहरूलाई थप १ घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने उनले जानकारी दिएका छन् । उहाँकाअनुसार लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले प्रमाणित गर्नुपर्ने र उनीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्नेगरी तयारी गरिएको छ ।
उनले भने, ‘विशेष क्षमता भएका विद्यार्थीहरुलाई अपाङ्गताको प्रकृति हेरेर प्रावधानअनुसार उहाँहरुले लेखन सहयोगी पनि पाउनुहुन्छ । ३ घण्टाको परीक्षा हो भने उहाँहरुले १ घण्टा ३० मिनेट बढी समय लेख्न पाउनुहुनेछ । विषयको पूर्णाङ्क र अपाङ्गताको प्रकृति हेरेर उहाँहरुलाई छुट्टै समय दिने प्रावधान छ । आफैँ लेख्न नसक्ने विद्यार्थीले लेखन सहयोगी पाउनेछन् । लेखन सहयोगी कक्षा ९ सम्म पढ्ने आफ्नो विद्यालयको विद्यार्थी राख्नुपर्नेछ । सो विद्यालयले फोटोसहित सहयोगी विद्यार्थी प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसपछि हामीले परीक्षार्थी विद्यार्थीले भन्ने र सहयोगी विद्यार्थीले सुनेर लेख्नेगरी छुट्टै कक्षामा व्यवस्थापन गर्ने प्रवन्ध गरेका छौँ ।’
उनले विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गरेका छन् । परीक्षा बिहान ८ बजेदेखी शुरु हुने भएकाले ढिलोमा साढे ७ बजेसम्म परीक्षाकेन्द्रमा पुग्न र निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन् ।
एक महिनामै नतिजा प्रकाशन
परीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पारेका छन् । सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको उनको भनाई छ । उनकाअनुसार परीक्षाकेन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ । परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकहरुले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय ईकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय ईकाईले तोकिएको समयमा लब्धांकपत्रहरु परीक्षा नियन्त्रण कार्यलय पठाउनेछ ।
उनले भने, ‘विगतमा जस्तो परीक्षा सकिएपछि नजिता धेरै दुई,तिन महिना नै कुर्नुपर्दैन । अहिले सरकारले दु्रत गतिमा नतिजा प्रकाशन गर्ने भनेर हामीलाई निर्देशन प्राप्त भएको छ । हामीले कम्तीमा एक महिनाभित्रै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेका छौँ । अहिलेसम्मको मोडेल हेर्दा जहाँ जहाँ परीक्षा केन्द्र छ, त्यहीबाट जुन दिन परीक्षा भयो, सोही दिनबाट परीक्षक र संपरीक्षकलाई बोलाएर उत्तरपुस्तिका परीक्षण गर्ने र मार्कस्लिपहरु सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय ईकाइले मार्कस्लिप परिक्षा नियन्त्रण कार्यलय कक्षा १० मा तोकिएकोसमय भित्र पठाउनेगरि तयारी गरिएको छ । यसपाली कम्तीमा एक महिनाभित्रै नजिता प्राप्त गर्न सक्नुहुनेछ ।’
परीक्षा नियन्त्रण कार्यलयले यसवर्ष अनुगमनमा पनि कडाई गर्ने जनाएको छ । परीक्षार्थीहरुलाई असहज हुनेगरी कक्षाकोठामा अनावश्यक भीडभाड नगर्न अनुगमनमा कडाइ गरिएको हो । कार्यलयले परीक्षा अवधिमा कुनै समस्या आए तुरुन्त निरीक्षकलाई जानकारी गराउन पनि विद्यार्थीलाई अनुरोध गरेको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार