काठमाडौँ । घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न च्याम्पियनसिपमा पाम जुनियरमा र एमएमएसी क्याडेटमा च्याम्पियन भएका हुन् । पाम लगातार आठौं संस्करणमा च्याम्पियन भएको हो । यसअघि क्याडेट र जुनियर विधामा छुट्टाछुट्टै टिम च्याम्पियन राखिएको थिएन । सातौं संस्करणसम्म समग्रमा पाम च्याम्पियन हुँदै आएको थियो । यसपल्ट जुनियर विधामा मात्र पाम च्याम्पियन भयो । पाम सर्वाधिक चार स्वर्ण र एक रजत जित्दै टिम च्याम्पियन भएको हो । क्याडेटतर्फ भने पाम दोस्रो स्थानमा नै खुम्चियो । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गत राष्ट्रिय जुडो संघ नेपालद्वारा आयोजित प्रतियोगितामा जुनियरमा बंगलादेश क्रिरा शिखा प्रोतिष्ठान दोस्रो र दाङ जुडो डोजो तेस्रो भए ।
क्रिरा शिखाले दुई स्वर्ण पदक तथा दाङले एक स्वर्ण र तीन रजत जिते । घरेलु मैदानमा क्याडेटतर्पm टिम च्याम्पियन एमएमएसीले ६ स्वर्ण, पाँच रजत र आठ कांस्य पदक जित्यो । पामले पाँच स्वर्ण, तीन रजत र ४ कांस्य पदक आफ्नो बनायो । समग्रमा पामले ९ स्वर्ण, चार रजत र चार कांस्य पदक भित्रायो । क्याडेटमा भुटानको पेल्खिल डोजो क्लब तेस्रो स्थानमा रह्यो । भुटानी टोलीले तीन स्वर्ण, एक रजत र दुई काँस्य प्राप्त ग¥यो । जुनियर र क्याडेट दुवैमा शीर्ष तीन स्थानका टोलीले क्रमशः १५ हजार, १० हजार र पाँच हजारका दरले नगद पुरस्कार पाए । प्रतियोगिताको जुनियर पुरुषमा पामका सबिनकुमार दियाली र महिलामा बंगलादेशकी फबिहा बुश्रा उत्कृष्ट खेलाडी घोषित भए ।
क्याडेटको पुरुषमा एमएमएसीका प्रिन्स विक, महिलामा पेल्खिनकी तान्डिन दोर्जी वाङमो उत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट चारैले जनही पाँच हजार नगद पुरस्कार पाए । कविराम घर्ती मगर उत्कृष्ट निर्णायक बने । यो प्रतियोगिता बी एन्ड टी ट्रेडिङ कम्पनी लिमिटेड (होकाइडो, जापान) को मुख्य प्रायोजनमा भएको हो । आइतबार जुनियरर्तm ९ स्पर्धाका फाइनल भए । पुरुष ५५ केजीमुनि एमएमएसीका शिव बराइली, ६६ केजीमुनि पामका दिपेश गुरुङ, ८१ केजीमुनि रेशन बस्नेत, ९० केजीमाथि गण्डकी जुडोका विज्ञान खत्री, ६० केजीमुनि पामका सबिनकुमार दियाली र ७३ केजीमुनि बंगलादेश क्रिराका साहिन अहमदले स्वर्ण जिते ।
महिला ४४ केजीमुनि पामकी रमा समत, ५२ केजीमुनि पामकै निशा श्रेष्ठ र ७० केजीमाथि क्रिराकी फबिहा बुश्रा पहिलो भए । विजेतालाई त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञान विभागका प्रमुख पशुपति अधिकारी, प्रा.डा. रामकृष्ण महर्जन र आयोजक संघका अध्यक्ष धर्मकुमार श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । समापनको अवसरमा जुडोका संस्थापक मध्येका एक खड्गबहादुर दाहाललाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आईतवार