Trending
>>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’ >>   राष्ट्रिय सभा अध्यक्षद्वारा निर्माणाधीन संसद भवनको अवलोकन (तस्बिरहरु) >>   निर्वाचन नहुने संशय हट्योः अर्थमन्त्री >>   दलहरुको घोषणापत्रः आर्थिक एजेण्डा प्रमुख प्राथमिकतामा >>   हतियार नत्यागे ‘कडा कारबाही’ गर्ने हमासलाई ट्रम्पको चेतावनी >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति योललाई आजीवन कारावासको सजाय >>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा


देश बनाउन उत्तेजना होइन, ‘टिम नेपाल’ र संस्थागत विकास आवश्यकः सभापति थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले मुलुकको विकास र लोकतन्त्रको रक्षाका लागि उत्तेजना नभई सुझबुझपूर्ण सहकार्य र बलियो संस्थागत संरचना आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विश्वव्यापी रूपमा बढ्दै गएको पपुलिजमको लहरबाट नेपालको लोकतन्त्रलाई जोगाउन सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले विश्वका परिपक्व लोकतान्त्रिक मुलुकहरू समेत अहिले ‘पपुलिजम’ (लोकप्रियतावाद) को सिकार भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै पपुलिजमको एउटा ठूलो लहर आएको छ । यसको आक्रमणबाट नेपालको लोकतन्त्रलाई हामीले जोगाउनसक्छौँ कि सक्दैनौँ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।’ 

उहाँले क्षणिक लोकप्रियताका लागि गरिने राजनीतिले लोकतन्त्रको मर्मलाई कमजोर बनाउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।
संस्थागत विकासको आवश्यकता
राज्यका संस्थाहरू बलियो नभए राष्ट्र असफल हुनेतर्फ इङ्गित गर्दै सभापति थापाले ‘ह्वाई नेसन्स फेल’ पुस्तकको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले संस्थाहरू कमजोर भएको अवस्थामा पपुलिजमले अख्तियारी पाएमा त्यसको भार मुलुकले थाम्न नसक्ने बताउनु भयो ।
‘लोकतन्त्रलाई दिगो बनाउन र मुलुकलाई सही दिशामा लैजान बलिया संस्थाहरूको निर्माण अपरिहार्य छ,’ उहाँले भन्नुभयो ।
टिम नेपालको अवधारणा
मुलुकको समृद्धिका लागि एकल प्रयास मात्र पर्याप्त नहुने भन्दै उहाँले ‘टिम नेपाल’ को अवधारणा अघि सार्नुभयो । उहाँकाअनुसार टिम नेपालभित्र ७ वटा प्रदेश, ७ सय ५३ वटा स्थानीय तह, संसदमा रहेका सबै राजनीतिक दलहरू, निजी क्षेत्र र आम नागरिक समेटिनुपर्छ । सबैको साझा प्रयास र अपनत्वले मात्र सरकार र व्यवस्थाले डेलिभरी दिनसक्ने उहाँको भनाइ थियो ।
पुरानो र नयाँको परिभाषा
नेपाली काँग्रेसको ऐतिहासिक विरासत र वर्तमान सान्दर्भिकताकाबारे बोल्दै सभापति थापाले काँग्रेस पुरानो पार्टी भएर पनि सधैँ नवीन रहने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस सबैभन्दा पुरानो पार्टी भएकोमा गौरव गर्छ, तर यसले सडकमा आएका नौजवानहरूको आवाजलाई पनि उत्तिकै सुन्छ । त्यसैले यो सबैभन्दा पुरानो पार्टी पनि हो र समयको माग अनुसार चल्ने सबैभन्दा नयाँ पार्टी पनि यही हो ।’

सहकार्य र सुधारको बाटो
देशको मुहार फेर्न रिस र उत्तेजना काम नलाग्ने बताउँदै उहाँले राष्ट्रिय एकता र राजनीतिक सहकार्यमा जोड दिनुभयो ।
देश बनाउन एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत सबै शक्तिहरूको आवश्यकता औंल्याउँदै उहाँले भन्नुभयो, ‘सबैलाई मिलाएर लिएर जाने जिम्मेवारी र क्षमता नेपाली कांग्रेससँग छ ।’ 

मुलुकलाई दुर्घटनाबाट बचाउन र नागरिकलाई सेवा प्रवाह गर्न काँग्रेस नै अहिलेको सही विकल्प भएको उहाँको दाबी छ ।


प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?