काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा जनसम्पर्क तथा अभिवादन अभियान सञ्चालन गर्ने भएका छन्।
पार्टीले सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ १३ गते बालेनले दिनभर कैलालीका राजापुर, टिकापुर, लम्की, बर्दगोरिया, सुखड, पहमानपुर, मसुरिया, चोमाला, अत्तरियालगायत स्थानमा नागरिकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। बजार क्षेत्र र चोक–चोकमा आयोजना गरिने अभिवादन कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
त्यसै दिन साँझ कञ्चनपुर प्रवेश गर्ने बालेनले पुनर्वास, झलारी हुँदै महेन्द्रनगर बजारमा समेत जनसम्पर्क कार्यक्रम गर्ने तालिका छ।

पार्टीका अनुसार अभियानको उद्देश्य जनतासँग प्रत्यक्ष संवाद, सुझाव संकलन र संगठन सुदृढीकरण रहेको छ। RSP ले यस अभियानलाई परिवर्तन र वैकल्पिक राजनीतिप्रति जनविश्वास बलियो बनाउने अवसरका रूपमा लिएको छ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलवार