काठमाडौँ। चीनको ग्वाङदोङ प्रान्त सरकार तथा त्यहाँस्थित साना तथा मझौला व्यवसायीले नेपालका व्यवसायीसँगको सहकार्य र व्यापार प्रवर्द्धनका लागि चासो देखाएका छन् ।
नेपाल भ्रमणमा रहेको ग्वाङदोङ प्रान्त सरकारका प्रतिनिधि सहितको टोलीले संघीय सरकार, प्रदेश सरकारका मन्त्री तथा सचिवसंग भेट गरी साना तथा मझौला व्यवसाय प्रवर्द्धनका लागि सहकार्य गर्न इच्छुक रहेको बताएको हो । चिनियाँ टोलीले नेपाली व्यवसायीले उत्पादन गरेका सामग्रीलाई अन्तर्राष्ट्रियकरण गरी बजार प्रवर्द्धनका लागि उपयुक्त अवसर प्रदान गर्न आफूहरु तयार रहेको बताएको छ । चीनको ग्वाङदोङ प्रान्तका उद्योग, सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक वान सुपिङ्ग नेतृत्वको टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालको समन्वयमा वागमती प्रदेशका उद्योग मन्त्री विन्दु श्रेष्ठसँग भेट गरी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न प्रश्ताव गरेको छ । उपमहानिर्देशक वान सुपिङ्गले साना तथा मझौला व्यवसायीको विकास तथा विस्तारमा आफूहरु सधै सहकार्य गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।
टोलीले वागमती प्रदेशको स्वास्थ्य मन्त्रालय र संघीय सरकारको उद्योग मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटघाट गरेको छ । टोलीमा ग्वाङदोङ प्रान्तका उद्योग सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक फान गुवालियाङ्ग ,चीनको अन्तर्राष्ट्रिय एसएमई मेलाका उपनिर्देशक हुआङ्ग जिआनजुन, व्युरोका सहायक अनुसन्धानकर्ता सु जिआन र सदस्य पिटर चेन सहभागी रहेका थिए ।
त्यसैगरी चिनियाँ व्यवसायी टोलीले साना तथा मझौला व्यवसायी महासंघ नेपालका पदाधिकारी लगायत व्यवसायीसँग छलफल गरेको थियो । सो अवसरमा ग्वाङदोङ प्रान्तका उद्योग सूचना तथा प्रविधि विभाग उपमहानिर्देशक वान सुपिङ्गले नेपाली व्यवसायीले उत्पादन गर्ने सामानहरुको माग चीनमा अत्याधिक रहेको भन्दै बजार विस्तारका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले दुई देशबीचको व्यवसाय प्रवद्र्धनको साथै शीप तथा प्रविधि आदान प्रदानमा पनि चासो राखेका छन् । नेपाली व्यवसायीसँग उत्पादिन सामानको बजार विस्तारसँगै प्रविधि तथा सीप मेलामा सहभागी हुन सबै नेपाली व्यवसायीलाई आव्हान समेत गरेका छन् ।
कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघ नेपालका अध्यक्ष इनु पौडेलले नेपाली व्यवसायीलाई चीनका औद्योगिक मेलामा विशेष प्राथमिकता दिएर सहभागीताको लागि सहजिकरण गर्न आग्रह गरेका छन् । सो क्रममा टोलीले नेपाली व्यवसायीका उत्पादन सामग्रीको पनि अवलोकन गरेको थियो । व्यवसायीले ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रको पनि अवलोकन भ्रमण गरेको थियो ।
प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार