Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको छ : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सदनमा उपस्थित सत्तापक्ष र प्रतिपक्षले समेत समर्थन गर्ने अवस्था पैदा हुनुलाई असाधारण अवस्थाको संज्ञा दिनुभयो । सोमबार नै आफूले प्रतिनिधिसभाको पहिलो बैठकपछि नै सिङ्गो सदनले नै विश्वासको मत व्यक्त गर्ने धारणा व्यक्त गरेको स्मरण गर्दै उहाँले आजको यो समर्थनलाई आफूमाथि ठूलो न्याय भएको बताउनुभयो ।

सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताउनुभयो । सबैजसो दलको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको प्रधानमन्त्रीको भनाइ थियो । समर्थन गर्ने दल र सांसदको भावनालाई आफूले सकारात्मक चुनौतीको रुपमा लिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकमा सामु रहेको साझा समस्या समाधानका लागि पहल गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले सिङ्गो सदनको नै विश्वासको मत पाउनुलाई आफू राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा रहेको महसुस गरेको उल्लेख गर्नुभयो ।

आफूले पाएको अपार समर्थनअनुसार कार्य सम्पादन गर्न सकूला वा नसकूला वा न्यायपूर्ण तवरले सम्बोधन गर्न सकूला वा नसकूला भन्ने अवस्था भने रहेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।” सत्ता साझेदार दलहरू निश्चित नीति र कार्यक्रम नै एकताको आधार भएको उल्लेख गर्दै प्रधानमन्त्रीले अहिलेको जनमतअनुसार नै वर्तमान सरकार बनेको स्पष्ट पार्नुभयो । संविधान राज्यको मूल कानुन भएकाले कार्यान्वयन गर्ने कुरामा सबै पक्ष प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्रीले विगतमा संसद् विघटन गर्नु सही हो वा होइन भन्नेबारेमा अहिले बहसको विषय नभएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत समर्थन गरेपछि विभिन्न कुरा उठे पनि त्यसलाई आफूले सकारात्मकरूपमा लिएको बताउनुभयो । उहाँले आफूले दौरा सुरुवाल लगाएका विषयमा समेत सदनमा स्पष्ट पार्नुभयो । दौरा सुरुवाल आम नेपालीको पहिरन जस्तो भएकाले पनि त्यसलाई स्वीकार गरेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले भन्नुभयो, “म दौरा सुरुवाल कोटको विरोधी होइन तर, त्यो लगाउने अवसर जुरेको थिएन ।” शान्तिपूर्ण राजनीतिमा आएपछि पार्टीका नेताहरु मन्त्री बन्दा जे रुचि लाग्छ, त्यही लगाउनुस् भन्ने गरेको स्मरण गर्दै आफूलाई पनि उपयुक्त समयमा दौरा सुरुवाल लगाउँछु भन्ने लागेको सुनाउनुभयो ।

दौरा सुरुवाल लगाउन सक्ने विषय सञ्चारमाध्यममा आएपछि आम मानिसको प्रतिक्रिया पनि हेरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेगेटिभ कमेन्ट एउटै देखिन, पोजेटिभ मात्र देखेपछि अब मैले यो निर्णय लिनै पर्ने भयो । जन अभिमतअनुसार पनि लगाएको मात्र हुँ ।” उहाँले नागरिकताविहीन नेपाली नागरिकलाई छ महिनाभित्र नागरिकता वितरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको पुनः स्मरण गर्नुभयो । प्रधानमन्त्री दाहालले रेशम चौधरीलगायतको मुद्दा ऐनमा उपयुक्त व्यवस्था गरेर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: २६ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?